
पृथ्वी राजमार्गको अल्पकालीन विकल्प दिँदै गोरखा
त्रिशुलीमा आएको बाढीका कारण राजधानी प्रवेश गर्ने लाइफलाइन मानिएको पृथ्वी राजमार्गअन्तरगत विभिन्न सडकखण्ड पहिरिएर यातायात अवरुद्ध भएको छ । धादिङको कृष्णभीर तथा विभिन्न सडकखण्ड भासिँदा मुग्लिन–काठमाडौँ सडक पूर्ण रुपमा अबरुद्ध बनेको छ ।
राजमार्ग अवरुद्ध हुँदा खाद्यान्न, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यकीय बस्तुको हाहाकार हुन नदिन कृष्णभीर सडकखण्डको पहिरो छल्न गोरखाका तीनवटा वैकल्पिक सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै ती वैकल्पिक सडक मर्मतसम्भार गरिने सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
तनहुँ, कास्की र लमजुङतर्फबाट काठमाडौ जाने सवारीहरुले आँबुखैरेनीदेखि गोरखा सदरमुकामहुँदै बुङकोट–नाम्जुङ–घैरुङ– दरबुङ–सिउरेनीटारबाट बेनिघाट निस्केर काठमाडौ जान सकिने विकल्प जिल्ला प्रशासन कार्यालयले दिएको छ ।
चितवन तथा पूर्व, पश्चिम क्षेत्रबाट आएका साना एवं मझौला चारपाङ्ग्रे सवारी साधनहरुले गोरखाको फिस्लिङबाट आग्रीडाँडा–तोमनडाँडा–बनटार–दलभञ्ज्याङ–रानिस्वाँरा–ठुलोदर्बुङ–दर्बुङफाँट–सिउरेनीटार हुँदै बेनिघाट निस्केर काठमाडौंको यात्रा गर्न सकिने गण्डकी गाउँपालिकाले जनाएको छ । ३२ किलोमिटरको यो सडकखण्ड गोरखा हुँदै काठमाडौ जाने सबैभन्दा छोटो रुट रहेको पालिकाको भनाइ छ ।
मोटरसाइकलहरुका लागि भने गण्डकी गाउँपालिका–७ ज्यामिरघाटको झोलुङ्गे पुल तरेर सिउरेनीटार–बेनिघाट हुँदै काठमाडौं जान सकिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्यले बताए । उक्त खण्डमा गाउँपालिकाले सामान्य मर्मतको काम समेत गरेको उनले जानकारी दिए ।
सम्भावित वैकल्पिक रुटहरुको अवस्था बुझेर यातायात संचालन गर्न व्यवसायीहरुसँग छलफल समेत भैसकेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । अति आवश्यक कामका लागि हिँडेकाहरुले आफूखुखी गोरखा हुँदै विभिन्न वैकल्पिक बाटोहरुबाट यात्रा गरिरहेको उनले जानकारी दिए ।




