| मङ्लबार, भदौ १५, २०८३

वैकल्पिक सडक र ८५ मिटरको बेलीब्रिज गण्डकी गाउँपालिकाको माग

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोरखाको गण्डकी गाउँपालिकाले वैकल्पिक सडक निर्माणसँगै ८५ मिटर लामो बेलीब्रिज निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । भोटेकोशी नदीमा आएको बाढी र लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरलगायतका क्षेत्रमा सडक क्षतिग्रस्त भई यातायात पूर्णरूपमा प्रभावित भएपछि गाउँपालिकाले वैकल्पिक आवागमनको व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको हो ।

गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले हस्ताक्षर गरेको पत्रमार्फत गण्डकी गाउँपालिका–६ पल्लोटार (फिस्लिङपारि) देखि वडा नं ८ सिउरेनीटार (बेनीघाट)सम्मको बाँकी करिब १.५ किलोमिटर सडकको ट्र्याक खोल्न आवश्यक भोगाधिकार तथा प्रक्रियागत स्वीकृति उपलब्ध गराउन माग गरिएको छ ।

गाउँपालिकाका अनुसार उक्त खण्डको ट्रयाक खोल्न सके करिब ६ मिटर चौडाइको वैकल्पिक सडक तत्काल सञ्चालनमा ल्याउन सकिन्छ । यसबाट पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा अत्यावश्यक सेवाका सवारीसाधनलाई वैकल्पिक मार्ग उपलब्ध हुनेछ ।

त्यस्तै, गण्डकी गाउँपालिका–६ हिक्लुङ र धादिङको बेनीघाट–रोराङ गाउँपालिका–१० स्थित मौवाखोलाको घुम्ती क्षेत्रमा करिब ८५ मिटर लामो बेलीब्रिज निर्माण गर्न सकिने प्राविधिक प्रतिवेदन रहेको गाउँपालिकाले जनाएको छ । बेलीब्रिज निर्माण भएमा उक्त क्षेत्रबाट समेत वैकल्पिक सडक सञ्चालन गर्न सहज हुने भन्दै गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गरेको छ ।

राजमार्ग अवरुद्ध हुँदा दैनिक आवागमन, खाद्यान्न तथा अत्यावश्यक सामग्रीको ढुवानी र स्वास्थ्यलगायतका सेवामा समेत असर परेकाले विपद्को अवस्थामा नागरिकको आवागमन र अत्यावश्यक सेवा निरन्तरता दिन वैकल्पिक सडक तथा बेलीब्रिज निर्माणलाई प्राथमिकतामा राख्न गाउँपालिकाले आग्रह गरेको हो ।

गाउँपालिकाले प्रधानमन्त्रीसमक्ष पठाएको पत्रको बोधार्थ गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरालाई समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्