| सोमवार, कार्तिक २३, २०८३

त्रिशुलीको बाढीले घ्याल्चोकको पुल बगायो

त्रिशुलीमा आइतबार विहान आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका ८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुंगे पुल बगाएको छ । बाढीले लगातार तीनघण्टा हानेरपछि बिहान साढे ११ बजेतिर पुल ढलाएर बगाएको स्थानीय विनोद नरालले जानकारी दिए ।

पुल लगेपछि गोरखाको गण्डकी गाउँपालिका ७ र ८ का बासिन्दा त्रिशुली तरेर राजमार्गतर्फ जान समस्या भएको छ । ‘घ्याल्चोकका करिब चार सय घरधुरी किसानले तरकारी र दूध बोकेर चरौंदीको कृषि सहकारीमा लैजाने मुख्य बाटो हो’, उनले भने, ‘अब यहाँका किसानले तरकारी र दूध बेच्न नपाउने भए ।’

यसअघि गत भदौ १० गते बुधबारको बाढीले यसभन्दा केही तल रहेको धवादीघाटको पुल लगेको थियो । सो पुल लगेपछि स्थानीयबासी यही पुल भएर वारपार गर्ने गरेका थिए । यो पुल पनि लगेपछि स्थानीयबासीलाई समस्या भएको अर्का स्थानीय विजय रुपाखेती बताउँछन् ।

पुल पनि लगेको र राजमार्ग पनि अबरुद्ध हुँदा यहाँका किसानले व्यवसायिक रुपमा उत्पादन गरेका तरकारी लगायतका कृषि उत्पादन बाटोमै फालेर नष्ट गर्ने गरेका रुपाखेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्