| आइतवार, भदौ १३, २०८३

त्रिशुलीको गोरखातर्फ फेला परेका २९ शवहरुको सामुहिक अन्त्येष्टि

बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर त्रिशुलीको गोरखातर्फको बगरमा भेटिएका शवहरुको अन्त्येष्टि गरिएको छ । जिल्लाको भूभागमा हालसम्म फेला परेका ५५ शवमध्य शनिबार २९ वटाको अन्त्येष्टि गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

हालसम्म पहिचान खुल्न नसकेका र पहिचान खुल्न नसक्ने शरीरका विभिन्न अंगहरुको सामुहिक रुपमा अन्त्येष्टि गरेको प्रमख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताए । ‘फेला परेका सवै शवहरु व्यवस्थित गर्न गोरखामा शवगृहको अभाव छ’, उनले भने, ‘दैनिक नयाँ–नयाँ शवहरु फेला पर्ने क्रम बढ्दै गएपछि व्यवस्थापनका लागि पहिचान खुल्न नसक्ने शवहरु अन्त्येष्टि गरेका हौँ ।’ उक्त शवहरुबाट डिएनए परीक्षणका लागि नमूना लिएर अन्त्येष्टि गरेको उनले जानकारी दिए ।

पर्याप्त व्यवस्थित शवगृह नहुँदा प्राप्त शवहरु बिग्रने, गन्हाउने र रोगहरु फैलन सक्ने हुँदा अन्त्येष्टि गर्नु परेको उनले बताएका छन् । प्रजिअ श्रेष्ठका अनुसार बेनिघाटदेखि मुग्लिनसम्मको करिब ४० किलोमिटर क्षेत्रभित्र प्रहरीले हालसम्म ५५ वटा शवहरु फेला पारेको छ । जसमध्य २३ वटा पहिचान खुल्न सक्ने सग्लो अवस्थामा छन् ।

हालसम्म फेला परेका सग्ला शवहरुमध्य ११ वटा पोखरा पठाइएको र बाँकी शवहरु भने प्रदेश अस्पताल गोरखा र एनपिआई गोरखा हस्पिटलको शवगृहमा राखिएको उनको भनाइ छ ।जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले २९ वटा शवहरुको सहिदलखन गाउँपालिका–९ बुंकोटघाटस्थित बुढीगण्डकीको किनारमा अन्त्येष्टि गरेको छ ।

केन्द्रबाट प्राप्त कार्यविधिअनुसार गाडेर शवहरुको अन्त्येष्टि गरिएको प्रजिअ श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्