| शुक्रबार, भदौ ११, २०८३

गण्डकी गाउँपालिकाका दुईहजार घरधुरी विद्युतविहिन

गण्डकी गाउँपालिकाका करिब दुई हजार घरधुरी दुईदिनदेखि विद्युत सेवा विहिन भएका छन् । त्रिशुलीको बाढीले विद्युत संरचना तहसनहस बनाएपछि धादिङसहित गोरखाको गण्डकी गाउँपालिका वडा नं.७ र ८ का सबै घरधुरी र वडा नं. ५ र ६ का केही घरधुरी विद्युत विहिन भएका हुन् ।

बाढीले नेपाल विद्युत प्राधिकरणका धादिङको जहरे सव–स्टेशन तथा गजुरी फिडरबाट वितरण हुने विद्युत सेवा अवरुद्ध भएको हो । त्यहाँबाट वितरण हुने गोरखाको गण्डकी गाउँपालिकाका करिब दुईहजार घरधुरी विद्युत सेवाबाट बञ्चित भएको विद्युत प्राधिकरणको गोरखा वितरण केन्द्र प्रमुख राम आशिष शाहले जानकारी दिए ।

‘ढलेका पोल र लत्रेका तार धादिङको तर्फबाट पनि मर्मतसम्भार गर्ने काम भइरहेको छ । हाम्रोतर्फको पनि मर्मत गरिरहेका छौँ’, उनले भने, ‘सायद एकदुई दिनमै विद्युत सेवा सुचारु हुनेछ ।’ विद्युत सेवा वन्द हुँदा ती गाउँबस्तीमा बत्ती बाल्न नपाइएको, मोबाइल चार्ज गर्न, रेडियो, टेलिभिजन हेर्न तथा कुटानी, पिसानी मिल चलाउन पनि नपाएको स्थानीय विजय रुपाखेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्