
गोरखा कारागारमा डेंगु र इन्फ्लुएन्जा ‘ए’ भाइरसको संक्रमण फैलियो
गोरखा कारागारमा डेंगु र इन्फ्लुएन्जा ‘ए’ भाइरसको संक्रमण फैलिएको छ । १२ जना कैदीबन्दीमा डेंगु र ४ जनामा इन्फ्लुएन्जा भाइरस संक्रमण पुष्टी भइसकेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
केही दिनअघि रुघाखोकी र ज्वँरो आएर उपचारका लागि अस्पताल लगिएका पाँच जना कैदीवन्दीमध्ये दुई जनामा डेंगु पुष्टी भएपछि अन्यको पनि नमूना परीक्षण गरिएको थियो । ‘दुई जनामा डेंगु संक्रमण देखिएपछि प्रदेश जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पताल र गोरखा नगरपालिकाबाट हामी संयुक्त रुपमा कारागार गएर नमूना परीक्षण ग¥यौ,’ प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन नारायण अर्यालले भने, ‘२९ जनाको रगतको नमूना परीक्षण गर्दा दश जनामा डेंगु देखियो ।’
चार जनामा भने इन्फ्लुएन्जा ‘ए’ भाइरसको संक्रमण देखिएको उनले बताए । उनीहरुको घाटी र नाकबाट स्वाव निकालेर परीक्षणका लागि प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखरा पठाइएको थियो । कारागारमा आइसोलेट भएर बस्न सक्ने अवस्था नरहेकाले अन्यमा पनि संक्रमण फैलन सक्ने जोखिम रहेको अर्यालको भनाइ छ ।
इन्फ्लुएन्जा ए भाइरस संक्रमितहरुका लागि आज औषधी आइपुग्ने प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख डा. सिमृन काफ्लेले बताइन् । ‘यसको औषधी यहाँ पाइदैन, बिभागबाटै आउनुपर्छ,’ उनले भनिन्, ‘आज औषधी आइपुग्छ ।’ संक्रमण फैलिएकाले सतर्कता अपनाउन आग्रह गरिएको र स्वास्थ्य सचेतना समेत गराइएको उनले बताइन् ।
कारागार प्रमुख बसन्त खत्रीका अनुसार संक्रमितहरुको उपचार भइरहेको छ । संक्रमित सबैलाई मास्क अनिवार्य गरिएको उनले बताए । ‘ठाउँ साँघुरो भएकाले संक्रमितहरु आइसोलेट भएर बस्न सक्ने अवस्था छैन तर हामीले सक्दो सतकर्ता अपनाएका छौ,’ उनले भने । कैदीवन्दी भेटघाटमा भने रोक नलगाइएको उनले जानकारी दिए । उनका अनुसार हाल गोरखा कारागारमा कुल १ सय ८ जना कैदीवन्दी छन् ।




