| बुधबार, भदौ ९, २०८३

तीनतले पक्की घर ढल्नुको कारणबारे विज्ञ टोलीद्वारा अध्ययन

गोरखा नगरपालिका ९ लक्ष्मीबजारका मानसिँह गुरुङको घर एक्कासी ढल्नुको कारणबारे विज्ञ टोलीले अध्ययन गरेको छ ।
नेपाल इञ्जिनियर्स एशोसिएशनले स्ट्रक्चरल इञ्जिनियर, जियोटेक्निकल इञ्जिनियर, सिभिल इञ्जिनियर लगायत चार जनाको टोली खटाएर गुरुङको घर जगैदेखि ढल्नुको कारणबारे अध्ययन गरेको हो ।

शनिबार अध्ययन गर्न आइपुगेको टोलीले शनिबार र आइतबार दुई दिनसम्म बसेर अध्ययन गरेको एशोसिएशनको तर्फबाट खटिएका इञ्जिनियर भैरव धितालले जानकारी दिए । ‘सरसर्ती हेर्दा घर भिरालो जमिनमा रहेको र निरन्तर पानी बगिरहने ठाउँमा रहेकाले बगेको हाम्रो अनुमान छ’, उनले भने, ‘कम्तीमा पनि ३० डिग्रीभन्दा भिरालो सतहमा घर, भवन जस्ता संरचना बनाउनु जोखिम मानिन्छ तर उहाँको घर ४५ देखि ६० डिग्री भिरालो सतहमा बनेको पायौँ । अनि दुई घरको बीचमा निरन्तर पानी बगिरहने रहेछ । त्यसले जमिन मुनिको सतहलाई असुरक्षित बनाउने हुनाले दुर्घटना भएको हुनसक्छ ।’

तथ्य भने विस्तृत अध्ययनपछि मात्र पत्ता लाग्ने धितालको भनाइ छ । ‘माटो लिएर आएका छौँ । माटोको भार क्षमता कति रहेछ त्यसको परीक्षण हुँदै छ । त्यसको प्रतिवेदन आएपछि कारण पत्ता लाग्छ’, उनले भने । कम्तिमा एक साताभित्र अध्ययन प्रतिवेदन आउने उनको भनाइ छ । विज्ञ टोलीले बगेको घर र त्यसले पारेको अन्य क्षतिबारेसमेत अध्ययन गरिरहेको जनाएको छ ।
वरिपरि अन्य घरमा परेको असरबारे पनि टोलीले अध्ययन गरेको छ । माटो परीक्षण भएपछि प्रतिवेदन बुझाउने धितालले बताए ।

स्ट्रकचरल इन्जिनियर प्रभुराम पोखरेल नेतृत्वको सो टिममा एशोसिएशनका इञ्जिनियर धिताल, टिममा जियोटेक्निकल इन्जिनियर उदय न्यैपाने, सिभिल इन्जिनियर लोकेन्द्र अधिकारी सहभागी थिए । अविरल बर्षापछि गत साउन १८ गते गुरुङको तीनतले पक्की घर बिहान ११ बजेतिर ढलेको थियो ।

प्रतिक्रिया दिनुहोस्