
बारपाक सुलिकोटमा दन्त उपचार केन्द्र स्थापना, निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न
बारपाक सुलिकोट गाउँपालिकास्थित सहिद प्रेम ढकाल स्मृति आधारभुत अस्पताल हुडीफाँटमा दन्त उपचार केन्द्र स्थापना भएको छ । मुटु फाउन्डेशन नेपाल, मनोज एशोसियशन फ्रान्स र प्रोजेक्ट सूर्य पेरिसको आर्थिक सहयोग तथा गाउँपालिकाको सहकार्यमा दन्त उपचार केन्द्र स्थापना भएको हो ।
दन्त उपचार केन्द्रको शुक्रबार गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले एक कार्यक्रमका बीच उद्घघाटन गरेका छन् । बारपाक सुलिकोटका नागरिकलाई नियमित, सहज र गुणस्तरीय दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित हुडीफाँटमा दन्त उपचार केन्द्र स्थापना गरिएको मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताए । आफूहरुले दन्त उपचार केन्द्र स्थापना गर्नुका साथै दन्त शिविर पनि संचालन गरेको उनले जानकारी दिए ।
‘शिविरमा ३९२ जनाले सेवा लिएका छन्’, गुरुङले भने, ‘जसमध्य ५१ जनाले दाँतको एक्सरे, २१० जनाले दाँत फिलिङ, ८१ जनाको दाँत निकाल्ने र १३८ जनाले स्केलिङ सेवा लिएका छन् ।’ ओम समाज डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको मुटु फाउन्डेसनका अध्यक्ष गुरुङले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, मुटु फाउन्डेसनका अध्यक्ष धन बहादुर गुरुङ, ओम समाज डेन्टल हस्पिटलका बोर्ड सदस्य राजन थापा, जनस्वास्थ्य निरीक्षक कृष्ण भट्ट, अस्पताल प्रमुख भीमसेन धिताल, चिकित्सकहरू, प्रोजेक्ट सुर्य पेरिस फ्रान्सका टिम, पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको उपस्थितिमा सहिद प्रेम ढकाल स्मृति आधारभुत अस्पतालमा दन्त उपचार केन्द्र स्थापना भएको थियो ।




