
गोरखाका जलविद्युत आयोजनाको समस्या समाधानमा गृहमन्त्रीले खोजे ऊर्जामन्त्रीको साथ
गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं गृहमन्त्री सुधन गुरूङ आफ्नो क्षेत्रका जलविद्युत् व्यवसायी लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन् । आफ्नो क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनामा देखिएका विभिन्न खालका बाधा अड्चनहरुको फाइल लिएर मन्त्री गुरूङ ऊर्जा मन्त्रालय पुगेका हुन् ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र नेपाल विद्युत प्राधिकरणको टिमलाई उन समस्या सुनाएका थिए । व्यवसायीहरूले उत्पादनको तयारीमा रहेको भन्दै प्रसारण लाइनको विस्तारदेखि विभिन्न व्यवस्थापकीय विषय उनले उठाएका थिए । मन्त्री गुरूङले गोरखा जिल्लाका विभिन्न नदीमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको निर्माणका क्रममा आइपरेका समस्या समाधानका लागि सहजीकरण गर्न ऊर्जामन्त्री श्रेष्ठ र विद्युत प्राधिकरणलाई अनुरोध गरेका थिए । मन्त्री गुरूङले जलविद्युत् व्यवसायीलाई पनि सिएसआरमा पारदर्शिता हुनुपर्ने, राजनीति नगरी व्यवसायमात्र गर्नुपर्ने र जलविद्युत् आयोजनाबाट त्यहाँको जनताले सुविधा पाउनुपर्ने बताए । उनले सरकारबाट पूर्ण सहजीकरण हुने र प्राधिकरणले बाधाहरू फुकाउने भन्दै राजनीति नगरि काम गर्न जलविद्युत् व्यवसायीलाई भनेका थिए ।
छलफलमा ऊर्जामन्त्री श्रेष्ठले गोरखाका जलविद्युत् आयोजना निर्माणमा देखिएका समस्या समाधानका लागि पूर्ण सहजी करण गर्ने प्रतिबद्धता जनाए । उनले सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन पनि दिए । गोरखामा बुढीगण्डकीसहित १० भन्दा जलविद्युत् आयोजना निर्माण भइरहेको छ । निर्माणका क्रममा आएका समस्या बोकेर गृहमन्त्री गुरूङ ऊर्जा मन्त्रालय आएका थिए । विद्युत प्रधिकरणका कामु निर्देशन दिर्घायु श्रेष्ठले पनि जलविद्युत् आयोजना निर्माणमा देखिएका समस्या सम्बोधनको लागि पहल भइरहेको र प्रसारण लाइनको समस्याका लागि स्रोत जुटाउन गृहकार्य भइरहेको जानकारी गराएका थिए ।




