
सर्दिभीरको क्यान्टिलिभर पुल मर्मतका लागि संसदमै उठ्यो आवाज
चुमनुब्री–६ लोक्पास्थित सर्दिभीरको क्यान्टिलिभर पुल समयमै मर्मत गर्न संसदमा आवाज उठेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाबाट निर्वाचित सांसद एलिजा गुरुङले सर्दिभीरको क्यान्टिलिभर पुल समयमै मर्मत गर्न संसदमा आवाज उठाएकी हुन् ।
पुल समयमै मर्मत नगरे स्थानियहरुलाई आवत जावतमा समस्या हुनुका साथै मनासलु क्षेत्र आउने पर्यटकाको सुरक्षा जोखिममा पर्नुका साथै स्थानिय पर्यटन प्रभावित हुने उनले बताएकी छिन् । जिल्लाको धार्चे–२ केरौँजाकी सांसद गुरुङले चुमनुब्री लगायत विकट हिमाली क्षेत्रका बासिन्दाहरुले भोक्दै आएको इन्ट्री पास र खाद्यन्न आपूर्तिको जटिल समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
‘भौगोलिक विकटताका कारण तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री बासीलाई सदरमुकाम र अन्य आन्तरिक बजारभन्दा छिमेकी चिनको तिब्बत स्वयत्त क्षेत्रका बजारहरुबाट दैनिक उपभोग्य सामाग्री ल्याउन सहज र सस्तो पर्दछ’, संसदमा आफ्नो कुरा राख्दै गुरुङले भनिन्, ‘तर, हालको व्यवस्था अनुसार वर्षको केही निश्चित दिनका लागि मात्र नाका खुल्दा सर्वसाधारणले वर्षभरीका लागि खाद्यन्न र अतिआवश्यक सामाग्री एकैपटक भण्डारण गर्नुपर्ने बाध्यता छ । सिमा पास नविकरण गर्न स्थानियहरुले झन्झटिलो प्रशासनिक प्रक्रिया र सास्ती भोग्नु परेको छ ।’
गुरुङले चुमनुब्री गाउँपालिका बासीका लागि पालिका वा वडास्तरबाटै सिमा पास नविकरण र वितरण गर्नुपर्ने माग राखेकी छिन् । यस्तै, वर्षमा केही दिनमात्र खुल्ने गोरखाको रुइला र ङुइला नाका दीर्घकालिन र नियमित रुपमा खोल्ने वातावरण मिलाउन उनले अनुरोध गरेकी छिन् । सिमा पासको सुविधा एउटा पालिकाको बासिन्दाले मात्र नभएर सिङ्गो गोरखा जिल्लाबासीले नै पाउनु पर्ने माग सांसद गुरुङले राखेकी छिन् ।
चुमनुब्री गाउँपालिका–६, लोक्पास्थित सर्दिभीरको क्यान्टीलिभर पुलमा केही दिनअघि पहाडको माथिबाट ढुङ्गा खसेर क्षति पुगेको थियो । ठूला ढुङ्गा खसेर पुल छेउका केही जीपहरु भत्किएको त्यहाँका कार्यबाहक वडाअध्यक्ष ठिले ग्याम्जो लामाले बताएका थिए । साथै, पुललाई आड दिएका ढुङ्गाहरु पनि भत्किएको उनले जानकारी दिए ।
सर्दिभीरमा निर्माण गरिएको क्यान्टिलिभर पुल उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्लिङ र वडा नं ७ छेकम्पारका गाउँबस्ती पुग्ने एकमात्र साहारा हो । समयमा पुल मर्मत नगरे चुम उपत्यकाका बासिन्दाहरुलाई समस्या हुने स्थानियहरुको गुनासो छ ।




