| बुधबार, भदौ २, २०८३

मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन, ९८ लाख बराबरको क्षति

जिल्लाको प्रमुख खाद्य बाली चैते धानको उत्पादन यसवर्ष ३५ प्रतिशतले गिरावट आएको छ । मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको कृषि विकास कार्यालय गोरखाका कृषि प्रसार अधिकृत विबेक पौडेलले बताए । गत वर्ष बाली भित्र्याउने बेला पानी परेको र किसानहरुले यस वर्ष सोही धान बीउका रुपमा प्रयोग गरेकाले धानमा मरुवा रोगको प्रकोप बढेको हुनसक्ने उनले जानकारी दिए । गुणस्तरीय धानको बीउ प्रयोग गर्दा मरुवा रोगको प्रकोप नबढ्ने पौडेलको भनाइ छ ।

उनका अनुसार आव २०८१/०८२ मा जिल्लाभर तीनहजार मेटिूकटन चैते धान उत्पादन भएको थियो । यो वर्ष भने जम्मा १५ सय मेटिूक टन चैते धान उत्पादन भएको उनले बताएका छन् । ‘जिल्लाभर ७२५ हेक्टरमा चैते धान खेती भएकोमा ५ हजार रोपनीमा मरुवा रोग लागेर धान पूर्ण रुपमा क्षति भयो, त्यसैले यो वर्ष उत्पादन घटेको हो’, उनले भने । मरुवा रोगले चैते धान उत्पादन भएको क्षेत्रमा समेत १५ प्रतिशत क्षति गरेको कृषि प्रसार अधिकृत विबेक पौडेलको भनाइ छ ।

चैते धानमा मरुवा रोगको प्रकोपका कारण यस वर्ष जिल्लाभर ९८ लाख बराबरको क्षति भएको कृषि विकास कार्यालय गोरखाका प्रमुख कुलप्रसाद तिवारीले बताए । कार्यालयले गत आव २०८२/०८३ मा ६७ लाखको चैते धान प्रवद्र्धन कार्यक्रम समेत संचालन गरेको उनले जानकारी दिए । ‘जिल्लाभर ६७ हेक्टर क्षेत्रफलमा कार्यक्रम संचालन भएको थियो’, कार्यालय प्रमुख तिवारीले भने, ‘कार्यक्रम संचालन गरेको ६७ हेक्टरमध्य ३० हेक्टरको धानमा मरुवा रोगले ५० प्रतिशतभन्दा धेरै क्षति गरेको छ ।
बाँकीको २७ हेक्टरबाट ९४ मेटिूक टन उत्पादन भएको छ ।’

उनका अनुसार मरुवा रोगका कारण चैते धान प्रवद्र्धन कार्यक्रम अन्तरगत जम्मा १६० मेटिूक टन धान उत्पादन भएको छ । कार्यक्रम अन्तरगत कार्यालयले ८३० मिटर पक्की कुलो निर्माण गरेर सिंचाई उपलब्धता बढाएको उल्लेख छ । साथै, किसानहरुलाई उन्नत बीउ, हाते ट्याक्टर, स्प्रे टंकी, र्सिचाई मोटर, बोरा, त्रिपाल, कुटानी पिसानी मेसिन लगायतका सामाग्रीहरु समेत उपलब्ध गराएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ । जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सहिद लखन गाउँपालिका र सिरानचोक गाउँपालिका आसपासका क्षेत्रहरुमा चैते धान खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्