
पर्वतारोहण संघ गण्डकी प्रदेशमा लाप्राकका उपाध्यक्षसहित चारजना निर्वाचित
नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशमा गोरखाको लाप्राक गाउँका उपाध्यक्षसहित चारजना निर्वाचित भएका छन् । गत शुक्रबार सम्पन्न भएको १८ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनबाट मनशान्त घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
जसमा उपाध्यक्षमा लाप्राकका श्रीबहादुर गुरुङ र सदस्यहरुमा लाप्राकका सन्दीप गुरुङ, रामबहादुर गुरुङ र आशबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष गुरुङ पर्यटन व्यवसायी हुन् भने अरु चार जना सगरमाथा लगायतका आठहजार मिटरभन्दा हिमाल आरोहीहरु हुन् ।
यसअघिको कार्यकालमा उपाध्यक्षमा लाप्राककै पुरबहादुर गुरुङ(युक्त) थिए । उनको हालै पाकिस्तानको ब्रडपिकमा हिउँपहिरोमा पुरिएर मृत्यू भएको थियो । समितिका सचिवमा प्रेमबहादुर कुँवर, कोषाध्यक्षमा विष्णुकुमारी मल्ल निर्विरोध चयन गरेको छ । यस्तै अरु सदस्यहरुमा विष्णुप्रसाद तिमिल्सेना, रोमन पौडेल, राजु सुवेदी, राजु परियार, गौतम नेपाली र लबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल पर्वतारोहण संघका केन्द्रीय अध्यक्ष फुरगेल्जे शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियो । निवर्तमान अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव मनशान्त घिमिरेले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।




