| सोमवार, भदौ १, २०८३

यसरी बित्यो गोरखामा गृहमन्त्री गुरुङको तीनदिन

हरेक महिना गृहजिल्ला गोरखा आउने कार्यक्रम बनाएका गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखा १ का विभिन्न ठाउँमा पुगी मतदाता भेटघाट गरेका छन् । शुक्रबार मन्त्रालयको काम सकेर साँझ अबेर आरुघाट आइपुगेका मन्त्री गुरुङ शनिबारदेखि मतदाता भेटघाट कार्यक्रममा सरिक भएका हुन् ।

उनले शनिबार भीमसेनथापा गाउँपालिकाका विभिन्न गाउँबस्तीमा पुगी मतदाता भेटघाट गरेका उनीसंगै हिँडेका रास्वपाका जिल्ला नेता ध्रुव अधिकारीले जानकारी दिए । ‘भीमसेनथापा गाउँपालिकाको टारीफाँट, तान्द्राङ, सिमलाफेद, अश्राङ, बोर्लाङ, धावाका मतदाताको जनगुनासो सुन्ने र समाधानको प्रयास गर्ने काम गर्नुभयो’, अधिकारीले भने, ‘आइतबार बिहानै मनकामना दर्शन, पूजाआजापछि सहिद लखनको मनकामना, ताक्लुङ, रागिनासका मतदातासंग भेटघाट गरिरहनु भएको छ । सोमबार गण्डकी गाउँपालिकाको वडा नं. ७ र ८ का मतदातासंग भेटघाट गरी मन्त्रालय फर्कने कार्यक्रम रहेको छ ।’ जिल्लावासीले गृहमन्त्री गुरुङसंग खाना पकाउने ग्यासको र मलको चरम अभाव भएको तथा कच्ची सडकमा बर्सातका कारण ग्रामीण भेगमा यातायातका कष्ट हुने गरेको गुनासो गरेका थिए ।

गृहमन्त्री गुरुङले साथमै हिँडेका जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखहरुलाई सो समस्याहरु यथासक्य छिटो समाधानका लागि पहल गरिदिन निर्देशन दिने गरेका छन् । साथै अन्य विविध समस्याहरु पनि सम्बन्धित निकायसंग समन्वय गरी तत्काल समाधानका लागि पहल गर्न गृहमन्त्रीले निर्देशन दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्