| आइतवार, साउन ३०, २०८३

दुर्गम गाउँको सामाजिक कामको जिम्मा आमा समूहलाई

प्रतीक्षा आले ।
जिल्लाको विभिन्न गाउँबस्तीबाट युवा जनशक्ति र विषेश गरी पुरुष जनशक्तिहरु रोजगारीका लागि बाहिर जान थालेपछि सामाजिक कार्यक्रमहरुको जिम्मा आमा समूहले लिन थालेका छन् । दुर्गम उत्तरी गोरखाको धार्चे गाउँपालिकाका विभिन्न गाउँबस्तीमा आमा समूहहरुको सक्रियतामा विभिन्न सामाजिक कार्यक्रमहरु हुने गरेका छन् ।

धार्चेको वडा नं ५ गुम्दामा आमा समूहको सक्रियतामा विभिन्न सामाजिक एवं सामुदायिक कार्यक्रमहरु हुने गरेका स्थानीयको भनाइ छ । गुम्दाको ‘धार्चे आमा समूह’ले गाउँमा सरसफाई, बाटो मर्मत र चौतारा निर्माण लगायतका विभिन्न कामहरु संचालन गर्ने गरेका छन् । गाउँमा पुरुष जनशक्ति नभएपछि महिलाहरुले नै सामाजिक गतिविधिहरुको जिम्मेवारी लिएको धार्चे आमा समूह गुम्दाकी अध्यक्ष कुमारी गुरुङले बताइन् ।

समूहले प्रत्येक महिनाको १ गते गाउँमा सरसफाई कार्यक्रम गर्ने गरेको उनले जानकारी दिइन् । साथै, समय समयमा बाटो मर्मत, विभिन्न सांस्कृति कार्यक्रम, गाउँमा चौतारा निर्माण लगायतका कार्यक्रमहरु संचालन गर्ने गरेको गुरुङको भनाइ छ । उनका अनुसार धार्चे आमा समूह गुम्दामा गाउँका एकसय ४९ महिला दिदीबहिनीहरु आबद्ध छन् ।

‘आमा समूह गठन गरेर मात्र हुँदैन, काम पनि गर्नुपर्छ भनेर लागेका छौँ’, समूहकी अध्यक्ष कुमारी गुरुङले भनिन्, ‘स–साना कामको लागि पनि वडा कार्यालय र पालिकाको मुख ताक्नु हुँदैन । सरसफाई र गाउँको व्यवस्थापन हामी आफै पनि गर्न सक्छौँ ।’ समूहले विशेषगरी गाउँमा पर्यटन स्वागत गरेबापत उठेको पैसाले विभिन्न सामाजिक कार्यक्रमहरु गर्ने गरेको उनले बताएकी छिन् ।

पर्यटक स्वागत गरेबापत उठेको पैसाबाट समूहले यस वर्ष गाउँमा १० वटा फलामको डस्टविन राखेको उनले जानकारी दिइन् । साथै, गाउँपालिकालाई थप २३ वटा डस्टविन सहयोग गरेको गुरुङको भनाइ छ । ‘अलि अलि बाँकी भएको पैसा समूहमा सदस्यहरु कोही दुखबिरामी हुँदा सहयोग गर्ने गरेका छौँ’, उनले भनिन् ।

धार्चे आमा समूह गुम्दाले हालसालै बर्खाले बिगारेको बाटोहरु मर्मत सम्भार पनि गरेको छ । साथै, बाटो सरसफाई र झाडी सफा गर्ने कामहरु गरेको समूहकी अध्यक्ष कुमारी गुरुङले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्