| आइतवार, साउन ३०, २०८३

क्रोनिक आयोजनाहरुको निरन्तर अनुगमन र ताकेताको खाँचो : सांसद बुर्लाकोटी

गोरखा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटीले आफ्नो गृहनगर पालुङ्टार नगरपालिकाभित्रका निर्माणाधीन सडकको अनुगमन गरेका छन् । शुक्रबार सो क्षेत्रमा आएका उनले शुक्रबार र शनिवार समस्याग्रस्त सडकको अनुगमन गरेका राष्ट्रिय स्वतन्त्र पार्टी पालुङ्टार नगरसभापति आनन्दराज पाण्डेले जानकारी दिए ।

सांसद बुर्लाकोटीले शुक्रबार १२ः३० बजे मध्यपहाडी लोकमार्गअन्तर्गत मसानेठाँटी लुइँटेल ठाँटीपोखरी सडक खण्डको अनुगमन गरेका छन् । सो सडक हिमडुङ प्यासाफिक जेभी कम्पनीले बिगत लामो समयदेखि अलपत्र पारिरहेको छ ।
अनुगमनपछि सोको समस्या र समाधानको उपायका बारेमा बाह्रपिर्केमा छलफल गरिएको थियो ।

त्यस्तै १ः३० बजे राधाकृष्ण–तुरतुरे सडकको अनुगमन भएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजनाद्वारा सञ्चालित सो आयोजना लुना विल्डर्स नामक निर्माण कम्पनीले ठेक्का लिएको थियो । अनुगमनपछि हवाइमैदानमा छलफल कार्यक्रम गरिएको थियो ।

त्यस्तै २ बजेदेखि राधाकृष्ण पौवाटार विरुवाटार सडकको अनुगमन गरिएको थियो । पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको सो आयोजनाको ठेक्का एमएस अमर कन्स्ट्रक्शनले लिएर काम अलपत्र पारेकोे थियो । अनुगमनपछि सो को बारेमा कालामाटामा छलफल कार्यक्रम गरिएको थियो ।

त्यस्तै तीनबजेदेखि नयाँपुल गाईफर्म सडक र विरुवाटार गाईफर्मको अनुगमन गरिएको थियो । सघन सहरी तथा भवन निर्माण आयोजनाले सञ्चालन गरेको सो योजना कन्चनजंघा सन्तोष जेभीले ठेक्का लिएर अलपत्र पारेको थियो । अनुगमनपछि सो कामको बारेमा विरुवाटारमा छलफल कार्यक्रम गरिएको थियो ।

त्यस्तै चार बजे अँबुवा बिर्दी सेरा पौवाटार सडकको अनुगमन गरिएको थियो । ग्रामीण सडक सुधार परियोजनाद्वारा सञ्चालित सो सडक आयोजनाको काम भिविपिएल एसिपिएल जेभीले ठेक्का लिएर लामो समयदेखि अलपत्र पारेको थियो । सो सडक अनुगमनपछि सेरा बजारमा छलफल कार्यक्रम गरिएको थियो ।

सांसद बुर्लाकोटीले सबैभन्दा समस्याग्रस्त अँबुवा बिर्दी सेवा पौवाटार सडक रहेको निश्कर्ष निकालेका छन् । त्यस्तै राधाकृष्ण पौवाटार विरुवाटार र मसानेठाँटी ठाँटीपोखरी सडक समस्याग्रस्त रहेको उनको निश्कर्ष छ । यसलाई निरन्तर फलोअप अनुगमनको खाँचो देखिएको सांसद बुर्लाकोटीले बताए ।

‘अनुगमन गर्ने निकायले हरेक महिना अनुगमन गरी कति प्रगति भयो भनेर पत्ता लगाउने र निर्माण कम्पनीलाई ताकेता गर्ने काम भएको भए राम्रो हुन्थ्यो’, उनले भने, ‘अनुगमनको जिम्मा त अरुकै हो तैपनि म पनि नियमित अनुगमन गर्नेछु । हरेक महिना प्रगतिविवरण माग्नेछु र ताकेता गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्