
कीर्तिमानी आरोही पुरबहादुर गुरुङ (युक्त)को शव नेपाल ल्याइयो
कीर्तिमानी आरोही पुरबहादुर गुरूङ युक्तको पार्थिव शरीर पाकिस्तानबाट आज नेपाल ल्याइएको छ। पाकिस्तानको ८०५१ मिटर अग्लो ब्रड पिक हिमालमा पुरबहादुर गुरुङसहित १० आरोहीले ज्यान गुमाएका थिए । उनको पार्थिव शरीर श्रुद्धाञ्जलीका लागि काठमाडौंकै कमलपोखरी लगिएको छ।
नेपाल पर्वतारोहण संघको कार्यालयमा राखेर अन्तिम श्रुद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। संघमा आयोजित श्रुद्धाञ्जली सभापछि उनको पार्थिव शरीरलाई निवासमा लगिने र भोलि स्वयम्भूमा धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले जनाएका छन्। वरिष्ठ पर्वतारोही तथा प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पा उनको शव नेपाल ल्याउन नेपाल सरकार, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ (एनएमए)सँग समन्वय गरिएको थियो ।
२०४५ सालको पुस ९ गते धार्चे ४ लाप्राकमा जन्मेका युक्त गुरुङले १० पटक सगरमाथाको आरोहण गरिसकेका थिए । उनले पछिल्लो पटक गत मे २० मा सगरमाथाको शिखरमा पाइला टेकेका थिए । निर्मल पुर्जाको इलाइट एक्सपेण्ड कम्पनीमा आवद्ध भएर हिमाल आरोहणको काम गरिरहेका उनले हालसालै मात्र अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको प्रमाणपत्र प्राप्त गरेका थिए । १० पटकसम्म सगरमाथा आरोहण गरेपछि उनी शेर्पा समुदायबाहेक सबैभन्दा धेरै पटक सगरमाथाको शिखरमा पुग्ने आरोही बन्न सफल भएका छन् ।
उनले सन् २०२५को मे १९ देखि यो बर्षको मे २० सम्म तीनपटकसम्म सगरमाथा आरोहण गरेका छन् । २०२५ को मे १९, अक्टुबर १५ र २०२६ को मे २० मा उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । गुरुङ गण्डकी अल्पाइन क्लवका कोषाध्यक्षसमेत हुन् । उनले सन् २०११ देखि सगरमाथाको सफल आरोहण गर्न सुरु गरेका हुन् ।
त्यसयता उनले सन् २०१७ मा, २०१८ मा, २०१९ मा २०२२ मा दुईफेर, २०२४ मा पनि सफल आरोहण गरिसकेका छन् । यो बर्ष उनले एकै सिजनमा आठहजार मिटरभन्दा अग्ला तीन हिमाल आरोहण गरेका छन् । अप्रिल १८ मा अन्नपूर्ण १, मे २० मा सगरमाथा र मे २१ मा ल्होत्सेको सफल आरोहण गरेका थिए ।




