
आँखैअघि मानसिंहको चारतले सपना ढलेपछि
प्रतीक्षा आले
‘घर ढलेको एउटा नराम्रो सपना मात्र भैदिए हुन्थ्यो जस्तो लाग्छ’
साउन १८ गते सोमबार बिहान करिब ११ बजेको थियो । बिहानैदेखि अविरल वर्षा भैरहेको थियो । सदाझैँ मानसिंह गुरुङ र उनकी श्रीमती चित्रकुमारी बिहानको खाना खाइवरी आराम गर्दै थिए । दुईवर्षका नाति पनि थिए साथमा । बुहारी जागिरमा गएकी थिइन्, नातिनी विद्यालय । मानसिंहका छोरा आकाश भने मनकामनामा जागिरे छन् । उतै बस्थे ।
गोरखा नगरपालिका वडा नं ९ लक्ष्मीबजारको दिवामार्ग स्थित मानसिंहको घरमा एक्कासी चट्चट् केही चुँडिएको जस्तो आवाज आयो । उनीहरु झसङ्ग भए । केही सेकेण्डपछि फेरि पनि चट्चट् गर्ने झनै चर्को आवाज दोहोरियो । अब उनीहरु बाहिर ननिस्की सुखै पाएनन् । फटाफट बाहिर निस्कदा आँगन चिरिन र छापिएका ढुङ्गाहरु भत्कन थाले । दायाँबायाँका इट्टाका गाह्रोहरु उप्कन थाले । उनीहरु झनै आत्तिएर, सडकतिर दौडिए । यत्तिकैमा पोलबाट घरसम्म टाँगिएको बिजुलीको तार चुँडियो । हेर्दाहेर्दै आँखै अगाडि उनीहरुको चारतले सपना गल्र्याम्म ढल्यो ।
‘केही मिनटमै घर गल्र्याम, गुर्लुम् ढल्यो । मैले त केही सोच्नै सकिनँ । होसै हराए जस्तो भयो’, ५९ वर्षका मानसिंह गुरुङले भने ।
सहर बस्ने रहर लक्ष्मीबजार मानसिंहको पुख्र्यौली थलो होइन । शहिदलखन गाउँपालिका वडा नं १ ठूलो दिप्लिङबाट उनी यहाँ बसाई सरेर आएका हुन् । गुरुङ मात्र होइन ठूलो दिप्लिङ, सानो दिप्लिङ, खान्चोक, बक्राङ लगायत गाउँबस्तीका अधिकांश मानिसहरु यही ठाउँमा घर बनाएर बसेका छन् । राम्रो शिक्षा, गुणस्तरीय स्वास्थ्य सुविधा र रोजगारीको अवसरको खोजीमा उनीहरु यहाँ आएका हुन् ।
मानसिंह आफूले सुखदुख गरेर २०६६ सालतिर लक्ष्मीबजारमा घडेरी जोडेको सम्झना गर्छन् । ‘अलिअलि कमाएपछि सबैलाई बजार बस्न मनलाग्दो रहेछ । हामी पनि छोराहरु पढाउँला, दुखसुख गरेर खाउँला भनेर यहाँ आएका थियौँ’, उनले भने ।
उनी भूपू प्रहरी हुन् । २०६० सालमा प्रहरी सेवाबाट अवकास लिएपछि वैदेशिक रोजगारीमा गए । राष्ट्रसेवक हुँदाको कमाइ र वैदेशिक रोजगारीको आम्दानी जोरजाम गरेर उनले लक्ष्मीबजारमा घर घडेरी जोडे । मानसिंहले आफ्नो जीवनकालको सारा कमाई शहरमा बस्ने रहरका लागि खर्च गरे । जुन रहर सोमबार उनैको आँखा अगाडि ढल्यो ।
गुरुङले भूकम्पपछि २०७४ सालमा ७७ लाख रुपैँया खर्च गरेर लक्ष्मीबजारमा चारतले घर बनाएका थिए । ‘अहिले घर लडेपछि ‘भीरमा घर बनाएको रहेछ’ भनेर सबैले भनेका छन् । तर मैले यहाँ घडेरी किन्दा ठुल्ठूलो बारीको गरा किनेको हुँ । बाटो पनि कुनाबाट थियो । पछि, बीचबाट सडक आयो । सडकलाई पर्खाल लगाएर उठाइयो । अनि तल्लोपट्टिका जग्गाहरु भीरमा भएजस्तो देखिएको हो’, मानसिंहले भने ।
विकास निर्माणमा लापरबाही
मानसिंहले २०७४ मा सबै मापदण्ड पु¥याएर लक्ष्मीबजारमा घर बनाएका हुन् । गोरखा नगरपालिकाको इन्जिनियरले नै उनको घरको मापदण्ड जाँचेर, घर निर्माण गर्न स्वीकृति दिएको हो । घर बनाएको १० वर्ष नबित्दै यसरी ढल्ला भन्ने उनीहरुले सपनामा समेत कल्पना गरेको विषय होइन । न त यसअघिका वर्षहरुमा घर ढल्ने कुनै सङ्केत नै देखेका थिए उनीहरुले । गत शनिबारदेखि परेको पानीले उनको घरबाट केही मिटर पर सडकमा चिरा भने देखिएको थियो ।
भएको के रहेछ भने, मानसिँहको घरैको आडमा अर्को एउटा १० हातको घडेरी छ । त्यो घडेरीपछि रहेछ किसनदेव महतोको घर । किसनदेवको घर र खालि घडेरीको बीचमा एउटा नाली छ । मानसिंह र किसनदेवको घर र घडेर भएको ठाउँको जमिन अलि समथर ‘भन्ञ्याङ’ रहेछ । त्यहाँ लक्ष्मीबजार चोकदेखि र माथि शिखर डाँडादेखि नालीको पानी आउने रहेछ । सडकको तल र माथिबाट आएको नालाको पानी जम्मा हुने ठाउँ रहेछ त्यो । दुवैतिरबाट आएको नालाको पानीलाई किसनदेवको घर अगाडिको सडकमुनिबाट कल्भर्ट बनाएर कटाएका रहेछन् ।
कल्भर्टबाट आएको नालाको पानी किसनदेवको घरको आडैमा बनाइएको पक्की नाला हुँदै तल जंगलतिर कटाइएको रहेछ । तर, कल्भर्ट निर्माण गर्ने क्रममा इन्जिनियर र ठेकेदारले लापरबाही गरेछन् । कल्भर्ट मुनि ह्युमपाइप राम्रोसँग जडान नगरेको देखिएको मानसिंहले बताए । घर ढलेलगत्तै स्थानीयहरुले कल्भर्टभित्र जाँच गर्दा ह्युमपाइप राम्रोसँग जडान नगरेको र कल्भर्ट पनि कमसल रुपमा निर्माण गरेको देखिएको उनले जानकारी दिए ।
‘घर ढलेपछि रोडतिरबाट घरमुनि ठूलो पानी आइरह्यो । यो त मेरो गल्ती होइन नि, यो त राज्यको गल्ती हो । कल्भर्ट बनाउँदाको सानो लापरबाहीले गर्दा मेरो जीवनभरिको कमाइ ढल्यो, जहान बच्चाको उठिबास लाग्यो’, मानसिंहले भने, ‘आज रगत पसिनाले बनाएको मेरो घर आँखा अगाडि ढलेको देख्दा यो मन कति कति रोएको छ ।’
मानसिंहको घर जगबाटै ढलेको छ । घर ढलेर आडमा रहेको किसनदेवको घरमा पनि केही क्षति भएको छ । ढलेको उनको घर, हरेक दिन अलि तल, अलि तल सरिरहेको छ ।
अकल्पनीय चोट
सोमबार मानसिंहको परिवारमा अकल्पनीय चोट आइप¥यो । घर ढलेको भिडियो फेसबुकमा देखेपछि मानसिंहका कान्छा छोरा ‘आकाश’ माथि दुखको आकाश खस्यो । उनी मनकामनाबाट रन्थनिँदै घर हानिए । ‘धन्न परिवारमा कसैलाई केही भएन, घर ढल्दा भाडामा बस्ने ठेकेदार भित्र परेछन् । धन्न उनलाई पनि केही भएन’, गह्रुङ्गो मन गर्दै भने आकाशले । आफ्नो सपनाको महल ढल्दा उनको मनमा त अनेकन चोट परेको हुँदो हो । तर, उनी मानवीय क्षति भने नभएको भन्दै आफ्नो मन बुझाउँदै थिए ।
मानसिँहकी श्रीमती ५३ वर्षकी चित्र कुमारी भने घर ढलेको त्यो भयावह दृश्यबाट अझै बाहिर आउन सकेकी छैनन् । दिनभर घर हेर्न, भेट्न र सहयोग गर्न आउने मान्छेहरुसँग मन भुलाउने उनलाई साँझ परेपछि भने पिर लाग्छ । सोमबार यता उनले आँखा झिमिक्क गरेकी छैनन् ।
‘१७, १८ वर्ष भयो यहाँ आ’को । धेरै वर्ष अरुकोमा भाडा गरेर बसियो । बल्लतल्ल दुखजिलो गरेर हामीले पनि आफ्नै घर ठड्याएका थियौँ’, चित्र कुमारीले भनिन्, ‘आज सोच्दै नसोचेको भयो, आँखैअघि घर लड्दा केही सोच्नै सकेको छैन । यस्तो दुख कसैलाई नहोस् ।’
अहिले मानसिंहको परिवार स्थानीय सन्तबहादुर गुरुङको घरमा आश्रित छ । सन्तबहादुरले उनीहरुका लागि एउटा फ्ल्याट नै खालि गराइदिएका छन् । घर लडेपछि सेना, प्रहरी र स्थानीयहरु मिलेर घरभित्रका केही सरसामानहरु निकालिदिएका छन् । महत्वपूर्ण कागजातहरु, केही फर्निचर र लत्ताकपडा निकालेको मानसिंहले बताए । ‘अरु त के नै हुन्छ र हामी गरिखानेको घरमा ?’, उनले प्रश्न गरे ।
चित्र कुमारीलाई भने कतिन्जेल अरुकोमा आश्रित हुनुपर्ने होला भन्ने अन्योलताले पिरोलेको छ । बेला बेलामा घर ढलेको एउटा नराम्रो सपना मात्र भैदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई । ‘बुढो पनि अब ६० पुग्न लाग्यो, जागिर खान पाउँदैन । म बुढी कहाँ जाने कमाउन ? कहाँ बस्ने, कसरी मुखहात जोड्ने भनेर पिर लाग्छ’, उनले भनिन्, ‘सहयोग भन्ने कुरा २, ४ दिन त हो, त्यसपछि त आफैले गर्नुपर्छ । सँधैभरि अरुको मुख ताकेर नि हुन्न । जीवनभरको कमाइ त्यही एउटा घर थियो, त्यो पनि गयो । हाम्रो त बाँच्ने आधार नै गयो ।’
राज्यले कल्भर्ट बनाउँदा लापरबाही गरेकै कारण आफूहरुको यस्तो दुरावस्था आएको उनले गुनासो गरिन् । विकास निर्माणका क्रममा हुने यस्तो ससाना गल्तीहरुले कसैको जीवनमा ठूलो क्षति हुनसक्ने जीवन्त उदाहरण हो मानसिंहको घर । सानो लापरबाहीले गर्दा एउटा परिवार विस्थापित हुनुपर्ने अवस्था आएकाले राज्यले यसको जिम्मेवारी लिनुपर्ने मानसिंहको दावी छ ।
उनीहरुलाई गोरखा नगरपालिकाले तत्कालका लागि रु २५ हजार नगद सहयोग गरेको छ । गुरुङ परिवारको पुनर्बासको हकमा भने, घर बनाउनका लागि जिल्ला विपद व्यवस्थापन समितिमार्फत चारलाख रुपैँया उपलब्ध गराउन सकिने गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए । यस विषयमा थप निर्णय गर्न भने बाँकी रहेको उनले जानकारी दिए ।
गोरखा नगरपालिका वडा नं ९ का वडाअध्यक्ष कुलबहादुर कुँवरले गुरुङ परिवारलाई ५० हजार नगद सहयोग गरेका छन् । यस्तै, गुरुङ समाज, टोल विकास संस्था र अन्य संघ संस्थाहरुले पनि छाक टार्ने गुजारा चलाउन भरथेग गरिरहेको मानसिंह गुरुङले बताएका छन् ।




