| बिहिबार, साउन २०, २०८३

गोरखामा एक वर्षमै ६१५ जोडीको सम्बन्ध बिच्छेद !

प्रतीक्षा आले
गोरखामा एक वर्षको अवधिमा ६१५ जोडीले सम्बन्ध बिच्छेद गर्न मुद्दा दर्ता गरेका छन् । २०८२ को साउन १ गतेदेखि २०८३ को असार मसान्तसम्ममा जिल्लाका ६१५ जोडीले सम्बन्ध बिच्छेद गर्नका लागि मुद्दा दर्ता गरेका गोरखा जिल्ला अदालतले जनाएको छ ।

बैदेशिक रोजगारीका कारण देशैभर सम्बन्ध बिच्छेदका मुद्दाहरु बढ्दो क्रममा रहेको र त्यसको प्रभाव जिल्लामा पनि देखिएको अदालतका स्रेस्तेदार कृष्ण मुरारी सिग्देलले बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ भरि जिल्लामा अंशवण्डा सम्बन्धी ७७ वटा मुद्दा दर्ता भएका छन् । यस्तै, जग्गा सम्बन्धी १६ वटा, लेनदेन सम्बन्धी ३९ वटा र लिखत बदर सम्बन्धी १५ वटा मुद्दा दर्ता भएका उनले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८२/०८३ मा बालबिवाह सम्बन्धी एउटा मुद्दा दर्ता भएको छ भने बहुबिवाह सम्बन्धी १३ वटा मुद्दा दर्ता भएका छन् । यस्तै, कर्तव्य ज्यानमा २, ज्यान मार्ने उद्योगमा १६ र आत्महत्या गर्न दुरुत्साहन गरेको सम्बन्धी ५ वटा मुद्दा दर्ता भएका जिल्ला अदालत गोरखाले जनाएको छ ।

यस्तै, जिल्ला अदालतमा जबरजस्ती करणी सम्बन्धी २५ वटा मुद्दाहरु दर्ता भएका छन् । यसैगरी, हाडँनाता करणीतर्फ ३, जबरजस्ती करणी उद्योगमा ६ र बाल यौन दुरुपयोग सम्बन्धी ७ वटा मुद्दाहरु दर्ता भएको उल्लेख छ । यसरी, गत आव जिल्लामा करणी सम्बन्धी ४१ वटा मुद्दाहरु दर्ता भएको अदालतले जनाएको छ ।

चोरी तथा डाँका शीर्षकमा ४० वटा मुद्दाहरु दर्ता भएका जिल्ला अदालतको विवरणमा उल्लेख छ । जसमध्ये, साधारण चोरीतर्फ २२, डाँका चोरी शीर्षकमा ४ र नकवजनी चोरीतर्फ ९ वटा मुद्दाहरु दर्ता भएका छन् । ठगीतर्फ ८, मानव बेचविखन सम्बन्धी २, नागरिकता कसूर सम्बन्धी १२ र लागु औषध सम्बन्धी ५ वटा मुद्दा दर्ता भएका जिल्लम अदालत गोरखाको तथ्याकंमा उल्लेख छ ।

अदालतमा गत आर्थिक वर्ष सवारी ज्यान, अंगभंग वा घाइते कसूरमा २२ वटा मुद्दा दर्ता भएका छन् । बैङ्किग कसूर सम्बन्धी भने ७१ वटा मुद्दा दर्ता भएका अदालतले जनाएको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा गोरखा जिल्ला अदालतमा एकहजार ९० मुद्दा दर्ता भएका थिए । जसमध्य ८० प्रतिशत अर्थात आठसय ७३ मुद्दा फछ्र्यौट भएको अदालतले जानकारी गराएको छ ।
आव २०८१/०८२ बाट जिम्मेवारी सरेको तीनसय ६६ र नयाँ ७ सय २४ गरी कुल एकहजार ९० मुद्दा दर्ता भएकोमा आठसय ७३ मुद्दा फछ्र्यौट भएका हुन् । दुईसय १७ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको उल्लेख छ ।

अदालतले गत आव एकसय ३४ मुद्दा मेलमिलापमा पठाएको थियो । जसमध्य ३८ मुद्दा सफल भएका छन् भने ८५ मुद्दा असफल भएका छन् । यस्तै, ११ मुद्दा चालु अवस्थामा रहेको कार्यालयको तथ्याकंमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्