| बिहिबार, साउन २०, २०८३

ज्याला, निर्माण सामाग्री तथा ढुवानी भाडाको नयाँ दररेट कायम

जिल्ला दररेट निर्धारण समितिले गोरखामा चालु आर्थिक बर्ष २०८३/०८४ का लागि नयाँ दररेट कायम गरेको छ । समितिको केही दिनअघि बसेको बैठकले विभिन्न आधारहरुमा साउन १ गतेदेखि निर्माण सामाग्री, सोको ढुवानीको दररेट, मेशिन तथा उपकरणको भाडा र श्रमिकहरुको ज्याला दररेट लागु गरेको हो ।

गत आर्थिक बर्षको जिल्ला दररेट, सिमाना जोडिएका छिमेकी जिल्लाहरुको दररेट, चालु आ.व. मा भएको मूल्यवृद्धि, नेपाल सरकारका विभिन्न कार्यालयहरु, संस्थानहरु, निकायहरुको सिफारिस तथा जिल्लाभित्र प्रचलित दररेट र नेपाल राष्ट्र बैकबाट प्रकाशित मूल्य सूचाङ्कका आधार समेतको अध्ययन गरी नयाँ दररेट निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

जिल्लाको स्थानीय स्तरमा उपलब्ध हुने श्रमिकको उमेर १६ वर्ष उमेर पुगेको र दैनिक काम गर्ने अबधि ८ घण्टालाई आधार मानी ज्यालादर निर्धारण गरिएको हो । निर्माणसंग सम्वन्धित अन्य आवश्यक सामाग्रीहरुको हकमा सम्वन्धित विभागीय नम्र्स, नम्र्स उपलब्ध हुन नसक्ने अवस्थामा निर्माण सामाग्रीहरुको उत्पादक वा आधिकारिक विक्रेताबाट प्रचलित नियमानुसार दरभाउपत्र प्राप्त गरी कार्यान्वयन गराउन सक्ने जनाइएको छ ।

पुरातात्विक महत्वका विभिन्न निर्माण कार्यहरुमा विशेष प्रकारको दक्षता र सिप भएका श्रमिकहरुको प्रयोग हुने भएकाले ती श्रमिकहरुको दैनिक ज्याला दररेट पुरातत्व विभागबाट स्वीकृत गरिएको दररेटलाई नै कायम गर्ने पनि निर्णय गरिएको छ ।
झोलुङ्गे पुल सम्वन्धि निर्माण सामाग्रीको लागि स्थानीय पूर्वाधार विभाग तथा झोलुङ्गे पुल सहयोग इकाईले काठमाडौको लागि कायम गरेको दरमा ढुवानी थप गरी दररेट निर्धारण गर्ने, गोरखा जिल्लाको बजार क्षेत्र बाहेक अन्य स्थानमा सञ्चालन हुने आयोजनामा आयोजना स्थलसम्म दुरीको आधारमा हुन आउने ढुवानी खर्च सम्वन्धित निकायले दररेट विश्लेषण गर्दा ढुवानी भाड़ा थप गर्न सक्ने पनि निर्णय गरिएको छ ।

समितिबाट प्राप्त जानकारी अनुसार अदक्ष कामदार, ज्यामी, क्याम्प वर्कर, कुल्ली, लेथ वर्करको ज्याला तीन बर्षअघि रु ८७५, गतबर्ष रु ८८० थियो भने अब ९०० हुने बताइएको छ । त्यस्तै वन हेरालु, नर्सरी हेरालु, सर्भे, पोलम्यान, केवलिङ, हेल्पर, वाचमेन, चेनमेनको ज्याला पनि विगतको भन्दा बढाएर ७५४ पु¥याइएको छ । त्यस्तै अर्धदक्ष कामदारको भने विगत तीन बर्षदेखि ९९० दरलाई यथावत गरिएको छ । दक्ष कामदारको भने थोरै दर बढाएर रु १२५० बनाइएको छ । सजिलो ठाउँमा ब्लास्टरलाई १२३० र असजिलो ठाउँका ब्लास्टरलाई रु १५०० दिने निर्णय भएको छ ।

त्यस्तै सजिलो सामान बालुवा, सिमेण्ट, रासयनिक मल, दाउराको ढुवानी ज्याला प्रतिकेजी रु ३.७, फलामेपाता, रड, विस्फोटक पदार्थ, एचडिपी पाइप, काँडेतार, औषधी, काठ आदिको ढुवानी ज्याला रु ६.२, जिआई पाइप, झोलुंगेपुलको लठ्ठा, इलेक्ट्रोमेकानिकल सामान, स्टिल पार्ट्स, विजुलीको, टेलिफोनको पोलजस्ता ज्यादै अप्ठ्यारो सामानको ढुवानी ज्याला प्रतिकेजी ९.३ कायम गरिएको छ । त्यस्तै २६ मि.मिभन्दा ठूलो झोलुंगे पुलको लठ्ठा ढुवानी दर प्रतिकेजी रु १५, ट्रान्सफर्मर, ट्रस्ट विम, सिँचाइ गेट आदिको ढुवानी दर प्रतिकेजी रु २८ निर्धारण गरिएको छ ।

खच्चडद्वारा ढुवानी गर्दा प्रतिकेजी, प्रतिकोश २.८ रुपैयाँ, ट्रकद्वारा ढुवानी गर्दा पक्की सडकको प्रतिटन, प्रति किमि रु. २६, कच्ची सडक प्रतिटन, प्रति किमि रु ६० र ट्याक्टरमात्र चल्ने सडकमा प्रतिटन, प्रतिकिमि रु १७० कायम गरिएको छ । सदरमुकामबाट चुमनुब्रीका सिर्दिबासबाहेक सबै वडाहरुमा प्रतिकेजी रु २००, सिर्दिबास र धार्चेका भूभागमा प्रतिकेजी रु १६४ निर्धारण गरिएको छ ।

चिम्नीको इटा र चाइनिज इटा प्रतिहजार १६ हजार, तराई इटा रु २० हजार ५००, चिम्नी भट्टाको इटालाई १४ हजार र लोकल भट्टाको इटालाई प्रतिहजार रु ८,८०० कायम गरिएको छ । ढुंगा बोल्डर प्रतिघनमिटर १८५०, बिगबोल्डर प्रतिघनमिटर दुईहजार, खानीको फोरुवा ढुंगा प्रतिघमि रु १९००, भुईँमा छाप्ने ढुंगा राम्रो प्रतिघमि रु १५०० र सामान्य प्रतिघमि रु १०५० निर्धारण गरेको छ ।

त्यस्तै ढलान ग्राभेल खोलाको प्रति घनमिटर रु १६००, कुटेको गिटी किसिम अनुसार रु २१०० देखि रु २२०० सम्म निर्धारण गरिएको छ । बालुवा धोएको प्रतिघमि रु २२००, बालुवा स्थानीय प्रतिघमि रु २०००, सिमेण्ट पिपिसी प्रतिबोरा ६००, र ओपिसी प्रतिबोरा ७०० कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्