
अभद्र तथा कानूनविपरीत हर्कत गरेको आरोपमा तीनजना पक्राउ
विभिन्न व्यक्ति तथा निकायसंग आर्थिक असुलीजस्ता अभद्र तथा कानून विपरीतका हर्कत गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पीडितहरुको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका प्रहरीले सिरानचोक गाउँपालिका वडा नं. २ घर भई हाल गोरखा बजारमा बस्ने गरेका ४५ बर्षका राजकुमार भन्ने सुकबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
गत साउनको १३ गते पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । त्यस्तै विभिन्न अभद्र व्यवहार कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले सहिदलखन गाउँपालिका वडा नं. ७ खाव्दीभञ्ज्याङ बस्ने ४२ बर्षका विष्णु पन्तलाई पनि पक्राउ गरेको छ । गत साउन १४ गते पक्राउ परेका उनीविरुद्ध पनि अभद्र व्यवहार मुद्दा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
त्यस्तै गोरखा नगरपालिका ६ बस्ने ४५ बर्षका पमबहादुर तामाङलाई पनि सोही अभियोगमा पक्राउ गरेको प्रहरीको भनाइ छ । गत साउन १४ गते पक्राउ परेका उनीविरुद्ध पनि अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




