| बुधबार, साउन १९, २०८३

अन्तर्राष्ट्रिय कल बाईपास(भिओआईपी)मा संलग्न गोरखाका गुरुङसहित चारजना पक्राउ

अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) संचालनमा संलग्न रहेको अभियोगमा प्रहरीले गोरखाका प्रोमेश गुरुङसहित चारजनालाई पक्राउ गरेको छ । काठमाडौं तथा भक्तपुर जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले भिओआईपी कार्यमा प्रयोग हुने उपकरण सहित पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं महानगरपालिका ८ जयबागेश्वरी डेरा गरी बस्ने गोरखा घर भएका २२ वर्षीय प्रोशेस गुरूङलाई पक्राउ गरेको जनाएको छ । गुरुङको साथबाट प्रहरीले १६ पोर्टको भिओआइपी डिभाइस एकथान, ल्यापटप १ थान, सिमकार्ड २२ थान र राउटर १ थान बरामद गरेको छ ।

पक्राउ मध्ये प्रोशेसलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान सुरु गरेको जनाएको छ । त्यस्तै काठमाडौं महानगरपालिका ७ गणेशस्थान बस्ने शंखरापुर नगरपालिका १ घर भएकी २० वर्र्षीया मुना श्रेष्ठ, भक्तपुर सूर्यविनायक नगरपालिका ४ डेरा गरी बस्ने कञ्चनपुर घर भएका २१ वर्षीय जेनित झुकाल र भक्तपुर सूर्यविनायक नगरपालिका १ बस्ने ३४ वर्षीय कृष्ण नगरकोटी पनि सोही आरोपमा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रोशेस र मुनालाई बिहीबार तथा जेनित र कृष्णलाई शुक्रबार पक्राउ गरेको हो । मुनाको साथबाट १६ पोर्टको भिओआइपी डिभाइस १ थान, ल्याप्टप १ थान, राउटर थान १ सिमकार्ड २० थान, जेनितको साथबाट ११२ पोर्टको भिओआइपी डिभाइस ५ थान, ब्याट्री ८ थान, इन्भर्टर १ थान, सिमकार्ड १ सय ५३ थान र कृष्णको साथबाट ब्याट्री ८ थान, युपिएस १ थान, इन्टरनेट हव १ थान, ल्यापटप १ थानलगायतका उपकरण तथा सामग्रीहरू बरामद गरेको छ ।

मुनाउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन तथा जेनित र कृष्णउपर जिल्ला अदालत भक्तपुरबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्