
होनहार युवा गुमाएपछि लाप्राकबासी शोकमा
कीर्तिमानी आरोही पुरबहादुर गुरुङ(युक्त)को निधनले आरोहीको गाउँ भनेर प्रसिद्ध लाप्राक गाउँ शोकमा डुबेको छ । गत विहिबार पाकिस्तानको ब्रोडपिकको हिउँपहिरोमा परी मृत्यू भएपछि उनका आफन्तजन, गाउँलेहरु अहिले काठमाडौं, काभ्रेस्थलीस्थित उनको निवासमा भरिभराउ छन् ।
शोकाकूल परिवारसंग समवेदना प्रकट गर्न तथा परिवारलाई संरक्षकत्व प्रदान गर्न गाउँलेहरु भेला भएका लाप्राक घर भएका नेपालका प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङले जानकारी दिए । ‘गाउँलेहरु उनको निवासमा भेला भएर युक्तको तस्वीरअघि वत्ती बालेर श्रद्धाञ्जली अर्पण गर्ने गरेका छन्’, उनले भने ।
आफन्तजन तथा छरछिमेकहरु पाकिस्तानबाट युक्तको शव आउने पर्खाइमा छन् । मंगलबारसम्म शव आइपुग्ने अनुमान रहेको अर्का स्थानीय तथा नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुलसी गुरुङको भनाइ छ । ‘दिनरात उनको घर परिवारलाई कुरिरहेका छौँ’, गुरुङले भने, ‘पर्सिसम्म शव आइपुग्छ कि भन्ने कुरा छ । अन्त्येष्टि र किरिया कर्म नगरुञ्जेलसम्म गाउँलेहरुले यसरी नै भेला भएर घर, परिवारलाई कुरिरहने छौँ ।’
घरमा युक्तकी श्रीमती भीमकुमारी र युगेन बस्छन् । नवलपुरमा रहेका बुबा र आमा पनि छोराको निधनको खबर पाउने वित्तिकै काभ्रेस्थली आइपुगेका अर्का स्थानीय धनप्रसाद गुरुङको भनाइ छ । ‘साह्रै दुख लाग्दो घटना भयो’, उनी भन्छन्, ‘लाप्राकले मात्र होइन, देशले नै एक साहसिलो, भरोशा लाग्दो, जुझारु र इमान्दार युवा गुमायो ।’ उदीयमान आरोही युक्तले गाउँघरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि योगदान गरेका उनले बताए ।
सुनार गुरुङका अनुसार युक्त तिब्बतस्थित सिसापाङ हिमाल आरोहणको तयारीमा थिए । तर त्यहाँको अनुमति नमिलेकाले तीनहप्ता अघि पाकिस्तान हानिएका थिए । ‘अगाडि बढेपछि कहिल्यै पछाडि नफर्कने अत्यन्त प्रभावशाली युवालाई गुमाइयो’, सुनार गुरुङले भने, ‘धेरै नबोल्ने, आफ्नो लक्ष्य पूरा गरेर मात्र छोड्ने उनको स्वभाव थियो । सानै उमेरमा धेरै कीर्तिमान राख्न सफल थिए । लाप्राक र देशको नाम उच्च राख्न सक्ने युवा भनेर हामी अनुमान गथ्र्यौँ तर दुखद घटना भयो ।’
२०४५ सालको पुस ९ गते धार्चे ४ लाप्राकमा जन्मेका युक्त गुरुङले १० पटक सगरमाथाको आरोहण गरिसकेका थिए । उनले पछिल्लो पटक गत मे २० मा सगरमाथाको शिखरमा पाइला टेकेका थिए । निर्मल पुर्जाको इलाइट एक्सपेण्ड कम्पनीमा आवद्ध भएर हिमाल आरोहणको काम गरिरहेका उनले हालसालै मात्र अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको प्रमाणपत्र प्राप्त गरेका थिए । १० पटकसम्म सगरमाथा आरोहण गरेपछि उनी शेर्पा समुदायबाहेक सबैभन्दा धेरै पटक सगरमाथाको शिखरमा पुग्ने आरोही बन्न सफल भएका छन् ।
उनले सन् २०२५को मे १९ देखि यो बर्षको मे २० सम्म तीनपटकसम्म सगरमाथा आरोहण गरेका छन् । २०२५ को मे १९, अक्टुबर १५ र २०२६ को मे २० मा उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । गुरुङ गण्डकी अल्पाइन क्लवका कोषाध्यक्षसमेत हुन् । उनले सन् २०११ देखि सगरमाथाको सफल आरोहण गर्न सुरु गरेका हुन् ।
त्यसयता उनले सन् २०१७ मा, २०१८ मा, २०१९ मा २०२२ मा दुईफेर, २०२४ मा पनि सफल आरोहण गरिसकेका छन् । यो बर्ष उनले एकै सिजनमा आठहजार मिटरभन्दा अग्ला तीन हिमाल आरोहण गरेका छन् । अप्रिल १८ मा अन्नपूर्ण १, मे २० मा सगरमाथा र मे २१ मा ल्होत्सेको सफल आरोहण गरेका थिए । कीर्तिमानी आरोही निर्मल पुर्जाको कमाण्डमा पाकिस्तानको ब्रडपिक आरोहणका क्रममा हिउँपहिरोमा परी निर्मल, युक्त लगायत १० जना आरोहीले ज्यान गुमाएका छन् ।




