
भाडादर नराख्ने सवारीलाई कारवाही हुने
भाडादर नराख्ने सार्वजनिक सवारीलाई कारवाही गरिने भएको छ । हालै ट्राफिक प्रहरी प्रमुखको रुपमा जिल्ला आएका एकनारायण खनालले पत्रकार भेटघाट गर्दै भाडादर राखे नराखेको अनुगमन बढाइने बताए ।
‘भाडादर र आरक्षण सिटको अनुगमन गर्छाै,’ उनले भने, ‘नराख्नेलाई कारवाही हुन्छ ।’ यातायात व्यवस्था कार्यालयको स्वीकृती बिना छत तथा हुट जडान गर्नेलाई पनि कारवाही हुने उनले जानकारी दिए । उनका अनुसार स्पष्ट रुपमा नदेखिने नम्वर प्लेट भएका सवारीहरु पनि कारवाहीमा पर्नेछन् । ‘सवारी साधनको भित्रि भागमा चालकको दृश्य छेकिने गरी राखिएको अनावश्यक झल्लर तथा सजावट र सिसामा राखिएको कालो स्टिकर हटाउने अभियानलाई तिव्रता दिन्छौ, नमाने कारवाही हुन्छ,’ उनले भने ।
गत आर्थिक बर्ष ट्राफिक नियम उल्ल्घंन गर्ने ६ हजार ३११ सवारी कारवाहीमा परेका छन् । जरिवाना स्वरुप उनीहरुबाट ५५ लाख १५ हजार ५ सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी असार महिनामा ७ सय ९२ सवारी कारवाहीमा पर्दा ६ लाख ७८ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख खनालले बताए ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने २ सय ६३ चालक कारवाहीमा परेको उनले जानकारी दिए । ‘लागू पदार्थ सेवन गरी सवारी चलाउने चार जना चालकलाई पनि कारवाही ग¥यौ,’ उनले भने, ‘दुई जनालाई मुद्दा चलायौ, दुई जनालाई जरिवाना तिराएर छाड्यौ ।’
उनका अनुसार गत आव २५ वटा सवारी दुर्घटनामा परेका थिए । १७ जनाको ज्यान गएको थियो भने २५ जना गम्भिर घाइते भएका थिए ।




