| शनिबार, साउन १५, २०८३

गोरखामा बैंकिङ कसुर सम्बन्धी मुद्दा बढ्दो

गोरखामा वैंकिङ कसुर सम्बन्धी मुद्दाहरु बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक बर्ष २०८२/०८३ मा दर्ता भएका ३ सय मुद्दामध्ये वैंकिङ कसुर सम्बन्धी ४८ मुद्दा रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा भने कार्यालयमा ५९ वटा वैंकिङ कसुर सम्बन्धी मुद्दाहरु दर्ता भएका थिए । यस्तै, आव २०८०/०८१ मा ४३ र त्यसअघि आव २०७९/०८० मा जम्मा एउटा मुद्दा दर्ता भएको कार्यालयको तथ्याकंमा उल्लेख छ । यसरी विगत तीन वर्षदेखि मात्र वैंकिङ कसुर सम्बन्धी मुद्दाहरु दर्ता हुन थालेको देखिएको छ ।

चेक बाउन्स, नक्कली खाता, अनधिकृत भुक्तानी, कमजोर वा झुटो धितो तथा डिजिटल ठगी लगायतका वैंकिङ कसुरहरु बढ्दै गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गत आर्थिक वर्ष कार्यालयमा सबैभन्दा धेरै आत्महत्या सम्बन्धी मुद्दा दर्ता भएका थिए । गत आव आत्महत्याका ५७ वटा मुद्दा दर्ता भएको कार्यालयका सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले बताए ।

यस्तै, अभद्र व्यवहार सम्बन्धी ३१ र जबरजस्ती करणी सम्बन्धी १५ मुद्दा दर्ता भएको उनले जानकारी दिए । गत आव जिल्लामा दोहोरा नागरिकता सम्बन्धी १० वटा मुद्दाहरु दर्ता भएका थिए । यस्तै कर्तव्य ज्यानसम्बन्धी २, भवितव्य ज्यान सम्बन्धी २१, ज्यान मार्ने उद्योगमा ९ र फुटकर ज्यानमा २२ वटा मुद्दा दर्ता भएका छन् । सवारी ज्यान अन्तरगत ९, सवारीवाट भवितव्य ज्यानतर्फ ३ र सवारी अंगभंगतर्फ ४ वटा मुद्दा दर्ता भएको उल्लेख छ ।

विद्युतिय कसुर तथा साईवर अपराध सम्बन्धी भने चारवटा मुद्दा दर्ता भएका छन् । विष खाएर आत्महत्यातर्फ ५, बहुविवाह सम्बन्धी ७ र बालविवाह सम्बन्धी एउटा मुद्दा दर्ता भएका छन् । सार्वजनिक शान्ति विरुद्धको ८, किर्ते नागरिकता सम्बन्धी १ र बाल यौन दुरुपयोग सम्बन्धी २ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सार्वजनिक शान्ति बिरुद्धको कसुरमा ८, हातहतियार तथा खरखजना सम्बन्धी ४, लागुऔषध सम्बन्धी ७, सहकारी ठगीतर्फ १ र ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लामतर्फ ३ वटा मुद्दा दर्ता भएका छन् ।

डाका चोरीको १, नकबजनी चोरीको ९, साधारण चोरीतर्फ ६, सवारी चोरीको १ र चोरी उद्योगतर्फ १ वटा मुद्दा दर्ता भएको उल्लेख छ । चोरी र साइवर अपराधका घटना पनि बढ्न थालेकाल सचेत रहन जिल्ला प्रहरी कार्यालयले जिल्लावासीलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्