
तिब्बती नाका खुल्यो, तर स्थानीयलाई खासै राहत भएन
उत्तरी गोरखा र तिब्बत बीचको रुइला एवं ङुइला नाका दुई साताअघि खुल्यो । नाका खुल्ने वित्तिकै सीमा क्षेत्रबासीहरु यताका सामान उता बेच्न र उताका सामान किन्न लावालस्कर लागेर गए ।
यसपटक नाका खुलेर खासै राहत महशुस नभएको स्थानीयबासीले फर्केर घर आएपछि प्रतिक्रिया दिएका छन् । ‘अचेल त पहिला जस्तो छैन । म त पोहोर साल नै वाक्कै भएर अबदेखि जान्न भनेर बसेको’, चुमनुब्री ७ का पासाङ लामा भन्छन्, ‘तर अर्कै सानो काम परेर गएँ । जान त गएँ, तर हाम्रा गाउँलेले भोग्नु परेको अवस्था देखेर दुख लाग्यो । एउटा घरमा दुई, तीनवटा घोँडा हुन्छन् । आफ्नै घोँडामा बोकाएर सामान ल्याउन पाए सस्तो पथ्र्यो, तर उताकाले एउटा भन्दा धेरै घोँडा लैजान नपाउने नियम बनाएछन् । अनि यताबाट किरा, वन लसुन जस्ता जडिबुटी बोकेर लगेको, त्यहाँ भाउ नपाएर हाम्रा गाउँलेहरु हैरान भएका छन् ।’ यसअघि यताको उत्पादन बेचेर कमाएको पैसाले उताबाट दैनिक उपभोग्य सामान किनेर ल्याउने गर्थे तर यसपटक यताबाट लगेको यार्सागुम्बा, वनलसुनजस्ता जडिबुटी कौडीको भाउमा बेच्नु परेको भन्दै गुनासो गरेका छन् ।
चिनियाँ मुद्रा(युआन)को भाउ बढेका कारण पनि स्थानीयलाई मर्का परेको अर्का स्थानीय ताञ्जेन लामाले बताए । ‘नाका खुले पनि म त उता गएको छैन’, उनले भने, ‘अचेल त माथि(तिब्बत)को भन्दा तल(नेपाली) बजारबाटै आएको सामान सस्तो पर्छ । झन अहिले युआनको भाउ बढेको रहेछ । नाका खुले पनि खासै फाइदा छैन ।’ अब नाका खुले पनि बिस्तारै–बिस्तारै तिब्बती बजार जान लालयित हुन छाडेका उनको भनाइ छ । यो बर्ष लार र फुर्पेका बासिन्दा अहिलेसम्म तिब्बत नगएको उनले बताए ।
तिब्बत जानकै लागि हरेक बर्ष बोर्डर कार्ड नवीकरण गर्न झञ्झट हुने पासाङ फुञ्जोको भनाइ छ । ‘हरेक बर्ष बोर्डर कार्ड रिन्यू गर्न पनि झञ्झट छ । रिन्यू गर्न कि डेढ दुई दिन हिँडेर फिलिम पुग्नुपर्छ, कि तीन दिन लाएर गोरखा बजारै पुग्नुपर्छ’, उनले भने, ‘अब नयाँ पुस्ताका युवाहरु यसै पनि गाउँमा बस्दैनन् । बुढा पुराना मान्छेहरु छउञ्जेल तिब्बत जालान्, नयाँ पुस्ताकाहरु जाँदैनन् ।’ युवाहरु विदेश पलायन भएका, गाउँमा युवा शू्न्य भएका उनको भनाइ छ । सीमाका बजारमा नाका खुल्ने वित्तिकै लावालस्कर लाएर तिब्बती बजारतिर जाने पहिलेका जस्तो उत्साह अहिले नभएको उनको भनाइ छ ।




