
गोरखामा ८१ प्रतिशत रोपाइँ सकियो
बर्खे धानका लागि मौसम अनुकुल भएको यो वर्ष गोरखाको रोपाईँ तिव्र गतिमा भइरहेको छ । कृषि विकास कार्यालयले संकलन गरेको तथ्यांकअनुसार किसानहरुले हालसम्म ८१ प्रतिशत रोपाईँ सकिसकेका छन् । यो सिजनमा जिल्लाभर १० हजार ५०० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिन्छ ।
‘यो वर्ष बर्खे धानका लाथि मौसम अनुकुल रह्यो । समयमै मनसुन भित्रिएकाले पनि फाँटहरुमा रोपाईँ तिव्र बनेको छ’, कृषि विकास कार्यालय गोरखाका सूचना अधिकारी सुमन भट्टराईले भने । कार्यालयले साउन मसान्तसम्ममा जिल्लाका समग्र रोपाईँको तथ्याङ्क संकलन गर्ने उनले जानकारी दिए । कार्यालयले यो वर्ष जिल्लाभर ९५ प्रतिशत रोपाईँ सम्पन्न हुने अनुमान गरेको उनको भनाई छ ।
पर्याप्त वर्षा भइरहेकाले यो वर्ष किसानहरुले सिंचाइको समस्या भोग्नु नपरेको कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष पर्याप्त वर्षा नभएकाले जिल्लाभर जम्मा ८५ प्रतिशत रोपाईँ भएको थियो । खडेरीका कारण विशेषगरी सहिदलखन र भिमसेनथापाका किसानहरु मारमा परेका थिए ।
यस वर्ष भने धान रोप्ने सिजनमा सिँचाइको अभाव नभएकाले उत्पादन बढ्न सक्ने अनुमान कृषि प्राविधिकहरुको छ । यद्यपि किसानहरुले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि रसायनिक मलको अभाव खेप्नु परेको छ ।
गोरखामा किसानहरु रामधान, साबित्री, सुख्खा २ जस्ता उन्नत जात र हाईब्रिडमा च्याम्पियन, युएस ३१२ नामको धान रोपेका छन् । साथै, केही स्थानीय जातका धानको बिउहरु पनि रोपेको बताइएको छ ।
जिल्लाको दरौँदी फाँट, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट, बोर्लाङफाँट लगायतका ठाउँमा धान उत्पादन धेरै हुने गर्छ । उत्तरी गोरखाको उच्च पहाडी भूभागमा पर्ने धार्चे र चुमनुब्री गाउँपालिकाहरुमा भने धान खेती हुँदैन ।




