
भिमसेन थापाको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो
राष्ट्रिय विभूति भिमसेन थापाको २५२ औं जन्मजयन्ती जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । थापाको जन्मस्थल भिमसेन थापा गाउँपालिका–७ बोर्लाङमा शनिवार एक कार्यक्रमका बीच जन्मजयन्ती मनाइएको हो । भिमसेन थापा बोर्लाङ प्रतिष्ठानको आयोजना तथा गाउँपालिकाको समन्वयमा कार्यक्रम भएको थियो ।
थापाको ऐतिहासिक हवेली रहेको स्थानमा बनाइएको भिमसेन थापा स्मृति पार्कमा कार्यक्रम भएको हो । कार्यक्रममा पार्कमा रहेको थापाको शालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रमको अवसरमा पार्क निर्माणका लागि जग्गा दान गर्ने व्यक्तिहरु सम्मानित भएका छन् । सम्मानित हुनेमा स्थानीय ललितजंग थापा र काजिबाबु थापा रहेका छन् ।
ललितजंगले १४ आना र काजिबाबुले ४ आना जग्गा निशुल्क उपलब्ध गराएको प्रतिष्ठानले जनाएको छ । उनीहरुलाई खादा ओडाएर कदरपत्रले सम्मान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष राजु थापाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बञ्जराले थापको ऐतिहासिक हवेली संरक्षण आवश्यक रहेको बताए । सो क्षेत्र संरक्षण र सम्वद्र्धनका लागि पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
प्रतिष्ठानले हरेक बर्ष थापाको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाउँदै आएको छ । थापा वंशीय परम्परा तथा त्यससँग सम्बन्धित धार्मिक एवं ऐतिहासिक सम्पदाको संरक्षणमा समेत प्रतिष्ठान लागि पर्दै आएको अध्यक्ष थापाले बताए । थापाको जन्मस्थल संरक्षणका लागि स्मृति पार्क, संग्रहालय, पुरातात्विक उत्खनन लगायतका कामहरु भइरहेको उनले जानकारी दिए । ‘बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने थापाहरुको बगैँचाबाट प्राप्त मुआब्जा रकमबाट ५० लाखको अक्षयकोष स्थापना गरेका छौ,’ उनले भने, ‘त्यसको ब्याजबाट संरक्षण तथा व्यवस्थापनका कार्य संचालन गर्ने व्यवस्था गरिएको छ ।’
त्यस्तै गोरखा नगरपालिका वडा नम्वर ४ स्थित भिमसेन पार्कमा पनि एक कार्यक्रमकाबीच थापाको जन्मजयन्ती मनाइएको छ । राष्ट्रिय विभूति भिमसेन थापा प्रतिष्ठान मूल आयोजक समितिको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा पार्कस्थित थापाको शालिकमा माल्यार्पण गरिएको थियो । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।




