| आइतवार, साउन ९, २०८३

सुत्केरी गराउने क्रममा शिशुको मृत्यु, हेलीद्वारा आमाको उद्धार

सुत्केरी गराउने क्रममा अत्याधिक रक्तश्राप भएपछि चुमनुब्रीमा एक नवजात शिशुको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं ४ छाक गाउँकी २९ वर्षीया पेमा खाण्डो लामाले जन्म दिएको नवजात शिशुको मृत्यु भएको हो ।

गत बिहिबार दिउँसो सुत्केरी गराउने क्रममा अत्याधिक रक्तश्राप भएर नवजात शिशुको मृत्यु भएको चुमनुब्री–४ स्थित लार्केबजार स्वास्थ्य चौकीमा कार्यरत्त स्वास्थ्यकर्मी रन्जना राईले बताइन् । ‘उहाँलाई सुत्केरी बेथाले च्यापेको भनेर दिउँसो साढे १ बजेतिर खबर आयो, त्यसपछि हामी स्वास्थ्य चौकीबाट चार घण्टाको बाटो हिँडेर छाक गाउँ पुग्दा बेलुका ५ बजिसकेको थियो’, स्वास्थ्यकर्मी राईले भनिन्, ‘हामी त्यहाँ नपुग्दै शिशुको मृत्यु भयो भन्ने खबर आयो । आमाको धेरै रक्तश्राप भैसकेको थियो । त्यहाँ पुगेर जसोतसो आमालाईचाँहि बचायौँ ।’ सुत्केरी बेथाले च्यापेकी पेमाको शुक्रबार दिउँसो मात्र हेलीद्वारा उद्धार भएको राईले जानकारी दिइन् ।

उनले भनिन्, ‘हेली नआउन्जेल हामीले जसोतसो उपचार गरिरहेका थियौँ । उहाँको अवस्था एकदमै नाजुक थियो ।’ छाक गाउँबाट नजिकको स्वास्थ्य चौकी लार्के बजारमा छ । त्यहाँ पुग्न चार घण्टा पैदल हिँड्नुपर्ने हुन्छ । भौगोलिक विकटताका कारण उत्तरी गोरखामा महिलाहरु सुत्केरी हुनु अघि नै स्वास्थ्य संस्था वा बर्थिङ सेन्टर धाउने गर्छन् ।

पेमाको हकमा भने समय अगावै सुत्केरी भएकाले समयमा स्वास्थ्य संस्था ल्याउन नसकेको स्वास्थ्यकर्मी रन्जना राईले बताएकी छिन् । उनलाई शुक्रबार हेलीद्वारा उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको थियो । हाल उनको अवस्था सामान्य रहेको राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्