
गोरखा कांग्रेसले मनायो ४४ औं विपी स्मृति दिवस
नेपाली कांग्रेस गोरखाले विपी स्मृति दिवस मनाएको छ । विपी स्मृति भवनमा एक समारोह आयोजना गरी दिवस मनाएको हो ।
पार्टी सभापति नन्दप्रसाद न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा जरा अभियानको पनि समापन गरिएको थियो । गत जेठ १३ गतेदेखि सुरु भएको जरा अभियानअन्तर्गत पार्टीको क्रियाशील सदस्यता वितरण, नविकरण तथा अद्यावधिक गरिएको जिल्ला सचिव किशोरजंग थापाले जानकारी दिए ।
उपसभापति धिरन थापाका अनुसार सो अभियानअन्तर्गत जिल्लाभरमा आठहजार ५८४ जना क्रियाशील सदस्य रहेको सार्वजनिक गरिएको थियो । क्षेत्र नं. १ मा पाँच हजार १५६ जना र क्षेत्र नं. २ मा तीनहजार ४२८ जना क्रियाशील सदस्य रहेको जानकारी गराइएको थियो ।
विपी स्मृति दिवस समारोह तथा जरा अभियान समापन समारोहमा पार्टीका केन्द्रीय सदस्यहरु तिलक रानाभाट र मुना भुषालले विश्वेश्वरप्रसाद कोइरालाको विचार तथा उनको योगदानका बारेमा चर्चा गरेका थिए ।
त्यस्तै क्षेत्र नं. १ का सभापति नारायण लामिछाने, क्षेत्र नं. २ का सभापति गोविन्द गुरुङ, जिल्ला उपसभापति धिरन थापा, गण्डकी प्रदेश सदस्यहरु पूर्ण दाहाल र विनाकुमारी श्रेष्ठ, प्रदेश सभापतिहरुका तर्फबाट खुनप्रसाद रेग्मी, गोरखा काठमाडौं सम्पर्क समितिका सभापति जनार्दन अर्याल, पालिका सभापतिहरुका तर्फबाट चन्दनबाबु खत्री, भूपू सैनिक संघका बद्री पोखरेललगायतले विपीको विचार तथा पार्टीको समसामयिक अवस्थाका बारेमा चर्चा गरेका थिए ।
सोही अवसरमा नेपाली कांग्रेस गोरखाले बालमन्दिर माध्यमिक विद्यालयमा रहेको अनाथ छात्रवासमा बस्ने विद्यार्थीहरुलाई खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण गरेको थियो ।




