
साउन १ मै उपभोक्ता समिति गठन, दशैँ अघि सबै योजना सम्पन्न गर्ने लक्ष्य
देशका विभिन्न पालिका र वडाहरुमा विनियोजित बजेट तथा कार्यक्रम खर्च हुन नसकेर फ्रिज भएका कैयौँ घटनाहरु छन् । कैयौँ योजनाहरु विभिन्न कारणले उपभोक्ता समिति गठन नै नभई कार्यान्वयन हुँदैनन् भने कतिपय आर्थिक बर्ष समाप्त हुञ्जेल योजना सम्झौता नभएका उदाहरणहरु छन् ।
गोरखाको एक वडाले भने हरेक आर्थिक बर्षको पहिलो दिन साउन १ गते नै उपभोक्ता समितिबाट सञ्चालन हुने सबै योजनाको उपभोक्ता समिति गठन गर्ने गरेको छ । सहिदलखन गाउँपालिका वडा नं. ७ ले लगातार तीनबर्षसम्म साउन १ गते नै उपभोक्ता समिति गठन गर्ने, साउन मसान्तसम्म योजना सम्झौता गरिसक्ने र सबै योजना तथा कार्यक्रम माघ मसान्तभित्र सम्पन्न गर्ने गरेको हो ।
यस आर्थिक बर्षका उपभोक्ता समितिबाट सञ्चालन गर्ने सबै योजनाहरु दशैं अघि नै सम्पन्न गर्ने लक्ष्य रहेको वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । समयमै सबै योजना सम्पन्न गरेर सो वडाले पालिकाबाट लगातार तीनबर्षसम्म पाँचलाख पुरस्कार जितेको छ । विगतलाई निरन्तरता दिँदै सो वडाले यही साउनको १ गते शुक्रबार उपभोक्ता समितिबाट गर्ने २० योजनामध्य १७ वटा योजनाको समिति गठन गरिसकेको छ ।
आर्थिक बर्षको पहिलो दिन गत शुक्रबार बुङकोट स्वास्थ्य चौकी भवन एकलाख ५० हजार रुपैयाँ लागतमा मर्मतसंभार तथा स्तरउन्नति गर्न संगिता भट्टराई लामिछानेको संयोजकत्वमा उपभोक्ता समिति गठन गरेको छ । त्यस्तै दुर्गाबहादुर गुरुङको अध्यक्षतामा दुईलाख रुपैयाँ बजेट रहेको मकैपुर चिप्लेटी धारा खानेपानी योजना उपभोक्ता समिति गठन भएको छ । दुईलाख रुपैयाँ बजेट विनियोजन भएको मकैपुर महादेव मन्दिर पुनर्निर्माण गर्न रामबहादुर श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको छ ।
त्यस्तै उपभोक्ताहरुको भेलाले रविन रानाको अध्यक्षतामा पाँचलाख रुपैयाँ बजेट रहेको थानीथान मन्दिर पुन निर्माण उपभोक्ता समिति गठन गरेको छ । उपभोक्ताहरुको भेलाले एकलाख ५० हजार रुपैयाँ लागतमा वयाक भित्रि सिडी बाटो निर्माण गर्न लोकबहादुर परियारको अध्यक्षतामा एक उपभोक्ता समिति गठन गरेको छ ।
डेढलाख रुपैयाँ बजेट विनियोजित चिरागरा वसन्ते गाउँ जाने सिँडी बाटो निर्माण गर्न सुनिता श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । एकलाख ५० हजार रुपैयाँ लागतमा मग्राती टोल सामुदायिक भवन स्तरउन्नति गर्न साउन १ गतेकै भेलाले तिलकबहादुर मग्रातीको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ ।
अधुरो रहेको बोर्लाङी गाउँ सामुदायिक भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले वडा कार्यालयबाट विनियोजित एकलाख ५० हजार रुपैयाँको कार्यक्रम सञ्चालन गर्न टिका श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको छ । त्यस्तै आर्थिक बर्षको पहिलो दिनमै चारलाख रुपैयाँ लागतमा लाखेडाँडा, थानिदेवी हुदै लाहुरेटोल जोड्ने अधुरो सडक स्तरोन्नतिका लागि यमबहादुर श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ ।
दुईलाख रुपैयाँ लागतमा चण्डिका आधारभूत विद्यालयको घेराबारका लागि गणेशमान श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको छ । त्यस्तै दुईलाख रुपैयाँमा पोखरीडाँडा भित्रि बाटो स्तरान्नति गर्ने कार्यक्रम सञ्चालन गर्न रामजीप्रसाद खनालको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन भएको छ । नयाँ आर्थिक बर्षको पहिलो दिन साउन १ गते डेढलाख रुपैयाँ बजेट रहेको मकैपुर डाँडा गाउँ, रातमाटे बेसीगाउँ सडक स्तरोन्नतिका लागि निर्मला श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ ।
त्यसैगरी शेरबहादुर गुरुङको अध्यक्षतामा एकलाख रुपैयाँ बजेट रहेको गैरीगाउँ अधुरो सामुदायिक भवन निर्माण उपभोक्ता समिति गठन भएको छ । अधुरो रहेको बोर्लाङी गाउँ सामुदायिक भवन एकलाख ५० हजार रुपैयाँमा निर्माण कार्य अघि बढाउन टिका श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । निम्जुङ गाउँबाट आहालडाँडा जाने सडक दुईलाख रुपैयाँमा निर्माणका लागि शेरबहादुर थापाको नेतृत्वमा उपभोक्ता समिति गठन गरेको छ ।
त्यस्तै दुईलाख ५० हजार रुपैयाँमा मास्किछाप शिवालय मन्दिर निर्माण गर्न प्रकाशबाबु थापा मगरको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । स्थानीय उपभोक्ता, कर्मचारी र जनप्रतिनिधिहरुको संयुक्त पहलबाट योजनाका कामहरु समयमै सम्पन्न गर्न सफल भएको वडाअध्यक्ष शरण श्रेष्ठको अनुभव छ ।




