
एक रुपैयाँ घुस खाएको थाहा पाएँ भने आफै एक्सनमा उत्रिन्छु : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुदन गुरुङले कुनै कर्मचारीले एक रुपैयाँ घुस खाएको थाहा पाए आफै एक्शनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार साँझ सात बजे जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुसंगको भेटमा यस्तो चेतावनी दिएका हुन् ।
‘मेरो माताहतको देशभरिको कुनै कर्मचारीले एक रुपियाँ मात्र, अझै एक सुका मात्र खाएको थाहा पाएँ भने म आफै एक्शनमा उत्रिन्छु त्यसको लागि’, उनले भने, ‘धेरै पनि चाहिएन, एक रुपैयाँ मात्र खाएको थाहा पाएँ भने अथवा बिचौलियाहरु यहाँ आएर मिलाउने, यताउता गरेको थाहा पाएँ भने । अहिले पव्लिक एकदम जागि सकेका छन् । कति कुरा कसले के बोलिहेको छ भन्ने रेकर्डिङ गरिरहेका हुन्छन् । यो नागरिकता यो मिल्दैन, पैसा दिनुभयो भने म तपाईँको काम मिलाइदिन्छु, यस्तो कुराहरु मेरो कानमा मात्र पर्यो भने म पर्सनल्ली एक्शन लिन्छु । पर्सनल्ली भनेपछि तपाइँ आफै बुझ्नुस् ।’
आफूलाई सुशासनका लागि जिताएर पठाएको भन्दै उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताए । ‘मलाई माथि पावरमा पठाएको कारण नै यही कारण हो । सुशासनका लागि । जब मेरो कानले त्यो सुन्यो भने जीरो टलरेन्स’, उनले भने, ‘मेरो माताहतको कुनै कर्मचारीले त्यो ग¥यो भनेर सिधै मेरो इज्जतमा दाग लागिहाल्छ । मैले कर्मचारीको इज्जत जोगाइदिने हो भने कर्मचारीहरुले पनि त्यही अनुसार गर्नुप¥यो ।’
आफूलाई जिताएर पठाएका मतदाताको सेवा गर्नु आफ्नो कर्तव्य रहेको भन्दै उनले उनले जनतालाई कर्मचारीले सघाउने, कर्मचारीलाई आफू सघाउने प्रतिवद्धता व्यक्त गरे । ‘मैले यहाँबाट जितेर गइसकेपछि, उहाँहरुले मलाई जिताएर पठाइसकेपछि मैले उहाँहरुको सेवा गर्नुपर्छ । कर्मचारीहरुको बोली मिठो, ब्यबहार राम्रो हुनुपर्छ’, उनले भने, ‘तपाईहरुलाई केही गाह्रो अप्ठेरो परेको छ भने भलाई भन्नुस् । आई विल सर्भ यू, यू सर्भ माइ पिपुल । नागरिकलाई तपाई सेवा गर्नुस्, तपाईहरुको सेवा गर्ने, गाह्रो अप्ठेरो सल्ट्याउने म छु । कुनै ठाउँमा ग्याप छ भने भन्नुस् ।’ देशभर सकारात्मक सन्देश आफ्नै गृहजिल्लाबाट फैलाउनु पर्नेमा उनको जोड थियो ।




