
भीमसेन थापामा नगर प्रहरीको सफल अभ्यास, नगर सुरक्षामा उल्लेखनीय काम गर्दै
गोरखाका ११ पालिकामध्य सबैभन्दा पहिले भीमसेनथापा गाउँपालिकाले नगरप्रहरी परिचालन गरेको छ । दुईवर्ष अघिदेखि पालिकाको सुरक्षाका लागि नगरप्रहरी परिचालन गरेको हो ।
एकजना असई, एक हवल्दार र जवान गरी नौ जनाको दरबन्दीमा गाउँपालिकाले दरखास्त आव्हान गरेको थियो । असईबाहेक आठ जना नियुक्ति गरेको तर अहिले सातजना मात्र कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारी बताउँछन् ।
नगरप्रहरीको काम, कर्तव्य र अधिकार धेरै र प्रभावकारी रहेको गाउँपालिकाको ठम्याइ छ । जनप्रतिनिधि तथा कर्मचारी प्रशासन नगरप्रहरीको मुक्तकण्ठले प्रसंसा गर्छन् ।
‘नगरप्रहरीको काम धेरै महत्वपूर्ण रहेछ’, पालिका प्रमुख लोकप्रसाद वञ्जरा भन्छन्, ‘गाउँपालिकामा क्याम्प बनाएर बस्छन् । गाउँपालिकाको प्रशासकीय भवनको सुरक्षा गर्छन् । नियमित सरसफाइ गर्छन् । विपद व्यवस्थापनमा खटिन्छन् । उनीहरुको सबभन्दा प्रभावकारी योगदान बजार अनुगमनमा देखिन्छ ।’ पालिकाभरि नियमित गस्ती गर्ने, कतै केही अनियमित देखिए पालिकालाई खबर गर्ने ढुंगा, गिटी, बालुवा अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणमा उनीहरुको भूमिका महत्वपूर्ण रहेको पालिका प्रमुख बञ्जरा बताउँछन् ।
पालिकाले सिपाहीलाई २० हजार हवल्दारलाई २२ हजार रुपैयाँ तलव सुविधा र तीनहजार रासन खर्च दिने गरेको छ । ‘सामाजिक सुरक्षा भत्ता वितरणमा उनीहरुको भूमिका धेरै ठूलो हुन्छ’, प्रमुख प्रशासकीय अधिकृत चित्र अधिकारी भन्छन्, ‘चोक–चोकमा बसेर पहरा दिन्छन् । शंकास्पद व्यक्ति तथा शंकास्पद गतिविधि भए नियन्त्रण गर्छन् । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, अनैतिक, अमर्यादित व्यवहार गर्न दिदैनन् । विशेष गरी पालिकाको कार्यक्रमलाई सभ्य र भव्य बनाउन उनीहरु असाध्यै खटिन्छन् ।’
नजिकैको प्रहरी चौकीसंग समन्वय गरी काम गर्ने हुनाले पालिकाको शान्ति सुरक्षामा नगरप्रहरीको अभ्यास धेरै प्रभावकारी रहेको उनको भनाइ छ । नगरप्रहरीको दरबन्दी नभए पनि पालिकाले आन्तरिक आयबाट उनीहरुको व्यवस्थापन गरेको हो । नगरप्रहरी व्यवस्थापनमा बर्षको २५ लाख रुपैयाँ खर्च हुने पालिकाले जनाएको छ ।




