
एक लाख ३९ हजारले गरे गोरखा संग्रहालय भ्रमण, अहिलेसम्मकै धेरै राजश्व संकलन
गत आर्थिक वर्ष २०८२/०८३ भर एकलाख ३९ हजार ११० जना स्वदेशी तथा विदेशी पर्यटकहरुले गोरखा सदरमुकामस्थित गोरखा संग्रहालयको भ्रमण गरेका छन् । संग्रहालयमा आउने पर्यटकहरुबाट प्रवेश शूल्क बापत ३२ लाख ९० हजार ५६० रुपैँया राजश्व संकलन भएको त्यहाँका प्रमुख जयनारायण कार्कीले बताए ।
सो रकम अहिलेसम्मकै धेरै रहेको उनले जानकारी दिए । आर्थिक वर्ष २०८१/०८२ मा संग्रहालयले प्रवेश शूल्क बापत २८ लाख ७४ हजार ५५ रुपैँया संकलन गरेको थियो । एक लाख २२ हजार ७३३ जना पर्यटकहरुबाट सो रकम संकलन भएको कार्यालयको तथ्याकंमा उल्लेख छ । यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा एक लाख १९ हजार १८७ जना पर्यटकहरुबाट २७ लाख ८५ हजार ४९१ रुपैँया राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष पर्यटन आउने दर र राजश्व दुवै बृद्धि भएको संग्रहालय प्रमुख काकीले जनाए । ‘यो अहिलेसम्मकै धेरै राजश्व संकलन भएको हो’, उनले भने, ‘पर्यटन सङख्या पनि अहिलेसम्मकै उच्च हो ।’ आफूहरुले संग्रहालय व्यवस्थापन र प्रचारप्रसारमा ध्यान दिएका कारण गत आव पर्यटन सङख्या बृद्धि भएको कार्कीले बताएका छन् । यसैगरी, संग्रहालय परिसरमा बालबालिकाहरु खेल्नका लागि आवश्यक पूर्वधार निर्माण र कार्यालय समय बाहेकको समयमा पनि बिहान बेलुका संग्राहलय खुल्ला गर्ने गरेकाले राजश्व बृद्धि भएको उनको भनाई छ ।
गोरखा संग्रहालय प्रवेश गर्नका लागि नेपाली नागरिकको हकमा प्रतिव्यक्ति २५ रुपैँया प्रवेश शूल्क कायम गरिएको छ । यस्तै, विद्यार्थीको हकमा १० रुपैँया, सार्क राष्ट्रका नागरिकहरुको हकमा ५० रुपैँया र विदेशी नागरिकको हकमा रु १०० प्रवेश शूल्क कायम गरिएको उल्लेख छ ।




