| शनिबार, साउन १, २०८३

अपर दरौंदी बी र सी निर्माणको काम सुरु

गोरखाको घ्याच्चोक र बारपाकको सीमानास्थित दरौंदी नदीमा अपर दरौंदी जलविद्युत आयोजना बी र सी निर्माण कार्य सुरु भएको छ । ग्लेसियर हाइड्रोपावर कम्पनी प्रालिले दुवै जलविद्युत आयोजना निर्माणको काम गरेको हो ।

८.३ मेगावाटको अपर दरौंदी जलविद्युत आयोजना बी र ९.७ मेगावाटको अपर दरौंदी जलविद्युत आयोजना सी निर्माण कार्य सुरु गरिएको प्रवद्र्धक पदम गुरुङले जानकारी दिए । ‘दुवै गरेर १८ मेगावाट क्षमताको आयोजना करिब तीन अर्व ५० करोडको लागतमा बनाउँदैछौँ’, गुरुङले भने, ‘अहिलेसम्म अपर दरौंदी जलविद्युत आयोजना बी को काम ३० प्रतिशत सम्पन्न भइसकेको छ । सीको काम १५ प्रतिशत सम्पन्न भएको छ ।’

हालसम्म वाटर–वेको काम करिब सम्पन्न भइसकेको उनले बताए । ‘चार किलोमिटर वाटर–वेको काम मध्य पाइपलाइन बनाउने काम सकिएको छ । अब ६०० मिटर सुरुङ निर्माणको काम बाँकी छ । त्यो पनि हालसालै सुरु गरिएको छ’, उनले भने । करिब सम्पन्न हुने अवस्थामा रहेको बारपाक दरौँदी जलविद्युत आयोजनाभन्दा केही माथि अपर दरौंदी जलविद्युत आयोजना बी रहेको छ भने त्योभन्दा माथि अपर दरौंदी सी आयोजना निर्माण भइरहेको छ ।

बाँध र पावर हाउसको काम पनि सुरु भएको छ । यहाँबाट उत्पादित विद्युत सिरानचोक गाउँपालिकाको केराबारीमा अवस्थित सवस्टेशनमा लगेर केन्द्रीय प्रशारणमा जोडिने छ । आयोजना दुईबर्षभित्र निर्माण सम्पन्न गर्ने सञ्चालक पदम गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्