| शुक्रबार, साउन १, २०८३

पालिकाहरुको खर्च विकास निर्माणतर्फ कम, प्रशासनिकतर्फ धेरै

प्रतीक्षा आले ।
जिल्लाका अधिकांश पालिकाहरुले विकास निर्माण (पुँजीगत)तर्फ कम रकम खर्च गरेका छन् । केही पालिकाले पुँजीगत खर्चका लागि छुट्टाइएको बजेटको ५० प्रतिशतमात्र खर्च गरेका छन् । अधिकांश पालिकाहरुले प्रशासनिक खर्च(चालु)तर्फ विनियोजित बजेटको राम्रै हिस्सा खर्च गरेको भएपनि पुँजीगततर्फ त्यसो नभएको हो ।

गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को वित्तीय प्रगति ८४.५२ प्रतिशत रहेको छ । चालु आवका लागि नगरपालिकाको कुल बजेट एक अर्ब ७ करोड ८६ लाख रहेको थियो । जसमध्य ९१ करोड १६ लाख ९६ हजार खर्च भएको पालिकाले जनाएको छ ।

गोनपाले चालुतर्फ ७० करोड ४४ लाख ३४ हजार रुपैँया बिनियोजन गरेकोमा ८८.३६ प्रतिशत अर्थात ६२ करोड २४ लाख ४९ हजार ५०८ रुपैँया खर्च गरेको छ । विकास निर्माण (पुँजीगत)तर्फ भने ३७ करोड ३६ लाख ६६ हजार बिनियोजन गरेकोमा ७७.४१ प्रतिशत अर्थात २८ करोड ९२ लाख ४७ हजार मात्र खर्च भएको छ ।

पालुङटार नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को वित्तीय प्रगति ८०.४१ प्रतिशत रहेको छ । पालिकाले चालु (प्रशासनिक खर्च) तर्फ ८७ प्रतिशत रकम खर्च गरेको छ । तर, पुँजीगत (विकास निर्माण तथा योजनाहरु) तर्फ भने विनियोजित बजेटको जम्मा ६७.६४ प्रतिशत खर्च गरेको उल्लेख छ ।

सहिदलखन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा ८०.१८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु आवको लागि पालिकाको कुल बजेट ६२ करोड ९७ लाख ८७ हजार १९२ रुपैँया रहेको थियो । जसमध्य ४० करोड ४९ लाख ८७ हजार ७१९ रुपैँया खर्च भएको गाउँपालिकाले जनाएको छ ।

आव २०८२÷०८३ का लागि सहिदलखनले चालुतर्फ ४८ करोड १५ लाख ५४ हजार १९२ रुपैँया बजेट बिनियोजन गरेको थियो । जसमध्य पालिकाले ८२.५८ प्रतिशत अर्थात ३९ करोड ७६ लाख ७१ हजार ८२० रुपैँया खर्च गरेको हो । गाउँपालिकाले विकास निर्माण तथा योजनातर्फको(पुँजीगत) बजेट १४ करोड ८२ लाख ३३ हजार बिनियोजन गरेको थियो । पुँजीगततर्फको बजेटमध्य ७२.४ प्रतिशत रकम मात्र खर्च भएको पालिकाको भनाइ छ ।

विकास निर्माणतर्फ विनियोजन गरेको १४ करोड ८२ लाखमध्य पालिकाले जम्मा १० करोड ८६ लाख १५ हजार ८९९ रुपैँया खर्च गरेको उल्लेख छ । अजिरकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति ८६.०८ प्रतिशत रहेको छ । पालिकाले चालु (प्रशासनिक खर्च) तर्फ ८६.०६ प्रतिशत रकम खर्च गरेको छ । पुँजीगत (विकास निर्माण तथा योजनाहरु) तर्फ भने विनियोजित बजेटको ७६.३४ प्रतिशत खर्च भएको उल्लेख छ ।

बारपाक सुलिकोटको आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति ८०.८९ प्रतिशत रहेको छ । चालु आवको लागि पालिकाको कुल बजेट ६७ करोड ५१ लाख ५७ हजार ९४५ रुपैँया रहेको थियो । जसमध्य ५४ करोड ६१ लाख ५४ हजार २३ रुपैँया खर्च भएको गाउँपालिकाले जनाएको छ । पालिकाले चालु (प्रशासनिक खर्च) तर्फ ४७ करोड ४८ लाख ७२ हजार ९४५ बिनियोजन गरेको थियो । जसमध्य ८३.७९ प्रतिशत अर्थात ३९ करोड ७८ लाख ८४ हजार ६९८ रुपैँया रकम खर्च गरेको छ ।

यस्तै, पुँजीगत (विकास निर्माण तथा योजनाहरु)तर्फ २० करोड दुईलाख ८५ हजार बिनियोजन गरेकोमा ७४.०३ प्रतिशत अर्थात १८ करोड ८२ लाख ६९ हजार खर्च गरेको उल्लेख छ । विकट मानिने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा ७२.९३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालु आवका लागि पालिकाको कुल बजेट ४७ करोड ६९ लाख ६८ हजार रहेको थियो ।

जसमध्य ३४ करोड ७८ लाख ७० हजार ६४७ रुपैँया खर्च भएको गाउँपालिकाले जनाएको छ । चुमनुब्रीले चालुतर्फ २८ करोड ३८ लाख २८ हजार रुपैँया बिनियोजन गरेकोमा ७२.६५ प्रतिशत अर्थात २० करोड ६२ लाख पाँचहजार २८५ रुपैँया खर्च गरेको छ । यस्तै, विकास निर्माणतर्फ (पुँजीगत) १९ करोड ३१ लाख ४० हजार बिनियोजन गरेकोमा ७३.३४ प्रतिशत अर्थात १४ करोड १६ लाख ६५ हजार खर्च गरेको हो ।

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति ७३.३७ प्रतिशत रहेको छ । चालु आवका लागि पालिकाको कुल बजेट ५३ करोड २४ लाख ३८ हजार रहेको थियो । जसमध्य, ४९ करोड, ६ लाख ७८ हजार खर्च भएको थियो ।

धार्चेले चालुतर्फ ३५ करोड ४९ लाख ४८ हजार रुपैँया बिनियोजन गरेकोमा ८१.०७ प्रतिशत अर्थात २८ करोड ७७ लाख ८२ हजार खर्च गरेको छ । यस्तै, विकास निर्माणतर्फ (पुँजीगत) १७ करोड ७४ लाख ९० हजार बिनियोजन गरेकोमा ५७.९७ प्रतिशत अर्थात १० करोड २८ लाख ९५ हजार खर्च गरेको हो ।

आरुघाट गाउँपालिकाको वित्तीय प्रगति ८४.८४ प्रतिशत रहेको छ । आव २०८२÷०८३ का लागि ६२ करोड ९१ लाख ३८ हजार बजेट बिनियोजन गरेकोमा ५३ करोड ४६ लाख ४८ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । आरुघाटले चालु (प्रशासनिक खर्च) तर्फ ९०.२५ प्रतिशत खर्च गरेको छ भने विकास निर्माण (पुँजीगत) तर्फ ७३.३४ प्रतिशत खर्च गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ का लागि सिरानचोक गाउँपालिकाका लागि कुल ७२ करोड ९३ लाख ५३ हजार बिनियोजन भएकोमा पालिकाले ७२.४५ प्रतिशत रकम खर्च गरेको छ । पालिकाले चालु (प्रशासनिक खर्च) तर्फ ८३.०४ प्रतिशत खर्च गरेको छ भने विकास निर्माण (पुँजीगत) तर्फ जम्मा ५२.६४ प्रतिशत खर्च गरेको उल्लेख छ ।

भिमसेनथापा गाउँपालिकाको वित्तीय प्रगति ७९.३८ प्रतिशत रहेको छ । पालिकाले आव २०८२/०८३ का लागि ६२ करोड ४७ लाख ७९ हजार बजेट बिनियोजन गरेकोमा ४९ करोड ६० लाख १० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । आरुघाटले चालु (प्रशासनिक खर्च) तर्फ विनियोजित बजेटको ८७.७१ प्रतिशत रकम खर्च गरेको छ भने विकास निर्माण (पुँजीगत) तर्फ ५७.६३ प्रतिशत खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्