
गोरखाका संघीयभन्दा प्रदेश माताहतका कार्यालयको खर्च प्रगति कम, कुन कार्यालयको कति प्रगति ?
प्रतीक्षा आले ।
गोरखाका संघ माताहतका कार्यालयभन्दा प्रदेश माताहतका कार्यालयहरुको खर्च प्रगति कम देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८२/२०८३ मा संघ माताहतका कार्यालयबाट भन्दा प्रदेश माताहतका कार्यालयबाट खर्च प्रगति कम भएको देखिएको हो ।
तथ्यांक अनुसार चालु आर्थिक बर्ष संघीय सरकार माताहतका कार्यालयहरुमा १० अर्ब ६५ करोड २६ लाख ८१ हजार १२७ रुपैयाँ प्राप्त भएको थियो । जसमध्य नौ अर्ब २२ करोड ६७ लाख ८३ हजार ४१ रुपैयाँ अर्थात ८६.६१ प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
१० अर्बमध्य चालुतर्फ आठ अर्ब ६९ करोड १५ लाख ४४ हजार रुपैयाँ प्राप्त भएकोमा आठअर्ब २० करोड ३४ लाख ५८ हजार अर्थात ९४.३८ प्रतिशत खर्च भएको छ । संघीय माताहतको पुँजीगत खर्च भने निराशाजनक छ । पुँजीगततर्फ जम्मा एकअर्ब ९६ करोड ११ लाख ४४ हजार प्राप्त भएकोमा जम्मा एक अर्ब दुई करोड ३३ लाख २४ हजार (५२.१८ प्रतिशत) रकम मात्र खर्च भएको प्रमुख कोष नियन्त्रक पौडेलले जानकारी दिए । जुन न्यून रहेको उनको भनाई छ ।
त्यस्तै, प्रदेश सरकार माताहतका कार्यालयहरुबाट खर्च गर्नेगरी गोरखामा तीन अर्ब ८९ करोड २८ लाख ४४ हजार ५८९ रुपैयाँ प्राप्त भएको थियो । जसमध्य तीन अर्ब २६ करोड ९४ लाख ६९ हजार १३७ रुपैयाँ अर्थात ८३.९९ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ ।
कूल विनियोजित तीन अर्ब ८९ करोडमध्य चालुतर्फ ९२ करोड ६९ लाख ४७ हजार ५८९ रुपैयाँ प्राप्त भएको थियो । जसमध्य ७१ करोड १३ लाख ५० हजार ७१७ रुपैयाँ (७६.७४ प्रतिशत) खर्च भएको छ । यसैगरी, पुँजीगततर्फ दुई अर्ब ९६ करोड ५८ लाख ९७ हजार रुपैयाँ विनियोजन भएकामा दुई अर्ब ५५ करोड ८१ लाख १८ हजार ४२० रुपैयाँ (८५.२५ प्रतिशत) खर्च भएको प्रमुख कोष नियन्त्रक पौडेलले जानकारी दिए ।
प्रदेश सरकार माताहत गोरखास्थित पूर्वाधार विकास कार्यालयले ८३.३ प्रतिशत मात्र खर्च प्रगति गरेको छ । चालु बर्ष खर्च गर्नेगरी सो कार्यालयलाई प्रदेश सरकारबाट एक अब ६५ करोड १७ लाख ४७ हजार रुपैयाँ प्राप्त भएको थियो । सो बजेटबाट ११७ वटा योजना सञ्चालन गर्नुपर्ने थियो । जसमध्य एक अर्ब ३८ करोड खर्च गरेको कार्यालयको लेखा अधिकृत रत्नखर आचार्यले बताए ।
त्यस्तै प्रदेश सरकार अन्तर्गतकै सिँचाइ डिभिजन कार्यालयका लागि १७ करोड ४२ लाख ५८ रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्य कार्यालयले जम्मा ८ करोड ९९ लाख ५२ हजार रुपैयाँ अर्थात ४६.३० प्रतिशत रकम खर्च गरेको कार्यालयको भनाई छ ।त्यसैगरी प्रदेश सरकार माताहतकै भेटेरीनरी अस्पताल तथा पशु विज्ञकेन्द्रबाट सञ्चालन गर्नेगरी चार करोड ३७ लाख रुपैयाँ प्राप्त भएकोमा तीन करोड ३७ लाख ७१ हजार ३८९ रुपैयाँ खर्च भएको लेखा शाखाले जानकारी दिएको छ ।
त्यस्तै प्रदेश सरकार माताहतकै प्रदेश जनस्वास्थ्य कार्यालयबाट खर्च गर्ने गरी चालु आर्थिक बर्ष पाँच करोड ७६ लाख २० हजार रुपैयाँ प्राप्त भएको थियो । जसमध्य चार करोड ४६ लाख ६० हजार खर्च भएको कार्यालयले जनाएको छ ।




