
राजश्वमा चुमनुब्रीको फड्कोः तीनबर्षअघि ११ लाख, अहिले दुई करोड
विकट मानिने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजश्व संकलनमा उल्लेखनीय फड्को मारेको छ । विगत तीन वर्षअघि जम्मा ११ लाख १२ हजार राजश्व संकलन गरेको चुमनुब्री गाउँपालिकाले यो आर्थिक वर्ष २०८२/०८३ मा दुई करोड १८ लाख रुपैँया राजश्व संकलन गरेको हो ।
दुई बर्षअघि अर्थात गत आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाले एक करोड ४९ लाख ५६ हजार रुपैँया राजश्व संकलन गरेको थियो । मनासलु क्षेत्र भ्रमण गर्न आउने पर्यटकहरुबाट भ्रमण बापतको शुल्क उठाउन थालेपछि पालिकाको राजश्व संकलनमा उल्लेखनीय बृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।
पालिकाले गत आर्थिक वर्षबाट मनास्लु आउने पर्यटकहरुबाट शुल्क लिन थालेको हो । प्रतिव्यक्ति एकहजार रुपैँयाका दरले शुल्क उठाउने गरेको लामिछानेले जानकारी दिए । चुमनुब्री गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा अन्तरिक राजश्व बापत जम्मा २७ लाख १४ हजार रुपैँया संकलन गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०७९/०८० मा पालिकाको आन्तरिक राजश्व बापत जम्मा ११ लाख १२ हजार मात्र संकलन भएको तथ्यांकमा उल्लेख छ ।
राजश्व बृद्धि हुनुमा पर्यटन शुल्कको प्रमुख भूमिका रहेको प्रमुख प्रशासकिय अधिकृत लामिछानेले बताएका छन् । उनी भन्छन्, ‘पर्यटन शुल्कसँगै पालिकाले नदिजन्य सामाग्री उत्खनन् बापतको कर संकलनलाई पनि व्यवस्थित बनाएको छ । पहिले चिट काटेर कर उठाउँथो, जसले गर्दा राजश्व चुहावट हुने जोखिम बढी हुन्थ्यो । अहिले भने अनलाइनमार्फत नै कर संकलन सुरु गरेका छौँ ।’ गाउँपालिकाले करको दायरालाई थप व्यवस्थित बनाएको छ ।
यस्तै, गत वर्षबाट मात्रै गाउँपालिकाले पालिकाको कार्यालयमै व्यवसाय दर्ता गर्ने तथा प्यान नंबर उपलब्ध गराउन सुरु गरेको छ । यसले पनि राजश्व वृद्धिमा थप सहयोग पु¥याएको लामिछानेको भनाइ छ । पर्यटन बापतको कर संकलन गर्न सुरु भएसँगै पालिकाको राजश्व उल्लेखनीय रुपमा बृद्धि भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । आगामि वर्षहरुमा पालिकाको राजश्व थप बृद्धि गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
‘आगामि वर्ष तीन करोड राजश्व संकलन गर्ने लक्ष्य छ’, उनले भने, ‘जति धेरै राजश्व संकलन गर्न सक्यो संघबाट त्यति नै बजेट बढेर आउँछ, राजश्व बढ्दा पालिकाको आर्थिक बिकासमा सहयोग पुग्छ ।’ पर्यटन शुल्कबाट धेरै राजस्व संकलन भएकाले सो राजस्व पनि पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा धेरै प्रयोग गर्ने लामाको भनाइ छ ।




