
गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो
बर्खे धानका लागि मौसम अनुकुल भएको यो वर्ष गोरखाको रोपाईँ तिव्र गतिमा भइरहेको छ । कृषि विकास कार्यालयले संकलन गरेको तथ्यांकअनुसार किसानहरुले हालसम्म ५८ प्रतिशत रोपाईँ सकिसकेका छन् । यो सिजनमा जिल्लाभर १० हजार ५०० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिन्छ ।
‘गतवर्षको असार मसान्तसम्म ४० देखि ४५ प्रतिशत रोपाईँ सकिएको थियो । यो वर्ष भने समयमै मनसुन भित्रिएकाले पनि फाँटहरुमा रोपाईँ तिव्र बनेको छ’, कृषि विकास कार्यालय गोरखाका सूचना अधिकारी सुमन भट्टराईले भने, ‘यदि मौसमले साथ दिइरह्यो भने जिल्लाभरको रोपाईँ अबको केही दिनभित्रै सकिन्छ ।’
पर्याप्त वर्षा भइरहेकाले यो वर्ष किसानहरुले सिंचाइको समस्या भोग्नु नपरेको उनले बताए । गतवर्ष पर्याप्त वर्षा नभएकाले जिल्लाभर जम्मा ८५ प्रतिशत रोपाईँ भएको थियो । वर्षाका कारण विशेषगरी सहिदलखन र भिमसेनथापाका किसानहरु मारमा परेका थिए । यस वर्ष भने धान रोप्ने सिजनमा सिँचाइको अभाव नभएकाले उत्पादन बढ्न सक्ने अनुमान कृषि प्राविधिकहरुको छ । यो वर्ष जिल्लाभर ९० देखि ९५ प्रतिशत रोपाईँ हुने प्रक्षेपण उनीहरुको छ ।
गोरखामा किसानहरु रामधान, साबित्री, सुख्खा २ जस्ता उन्नत जात र हाईब्रिडमा च्याम्पियन, युएस ३१२ नामको धान रोपेका छन् । साथै, केही स्थानीय जातका धानको बिउहरु पनि रोपेको बताइएको छ । जिल्लाको दरौँदी फाँट, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट, बोर्लाङफाँट लगायतका ठाउँमा धान उत्पादन धेरै हुने गर्छ । उत्तरी गोरखाको उच्च पहाडी भूभागमा पर्ने धार्चे र चुमनुब्री गाउँपालिकाहरुमा भने धान खेती हुँदैन ।




