
गोरखामा कृषि मलको अभाव उस्तै
गोरखा नगरपालिका वडा नं. १० छेपेटारका कृषक विष्णु पाठक भर्खरै रोपेको खेतका लागि रासयनिक मल किन्न तीनघण्टा लाइनमा बसे । मल हात थाप्ने ठाउँमा पुगेपछि उनले पाए जम्मा पाँच किलो मल ।
‘दिउसो दुई बजेदेखि लाइनमा बसेको, तीनघण्टा उभिएपछि बल्लतल्ल हात परेको यत्ति भए पनि किन छोड्ने भनेर हात थापेँ’, उनले भने, ‘पाँच रोपनी खेतमा पाँच किलो मल हात्तीको मुखमा जीरा भयो ।’ उनीमात्र होइन, ३० रोपनी खेत भएकाले पनि दामासाहीले बाँडेको पाँच किलो मलमै चित्त बुझाए ।
छेपेटार टोलका १५० घरधुरी किसानलाई दामासाहीले पाँच–पाँच किलो मल बाँडेको महादेवटारी सहकारी संस्थाकी अध्यक्ष शेल्चा तामाङ बताउँछिन् । ‘सय बोरा भएको भए ठिकै हुन्थ्यो, तर जम्मा १५ बोरा पाइयो’, उनले भनिन्, ‘जति थियो, त्यत्तिलाई पाँच–पाँच किलोका दरले बाँडियो ।’
पालुङ्टार नगरपालिका १० का किसानले रोपाइँ सुरु गरेको पनि दुईसाता बित्न लागिसकेको छ । अझै पनि एक दाना मल नपाएको किसानहरुको गुनासो छ । मागको तुलनामा आपूर्ति अत्यन्त कम भएकाले बाँड्न नसकिएको वडा अध्यक्ष रिखीराज धौराली बताउँछन् ।
‘हाम्रो वडामा चार पाँचसय जना किसान छन्, तर मल आएको छ, जम्मा ३२ बोरा’, धौराली भन्छन्, ‘दुईवटा सहकारीलाई १६–१६ बोरा उपलब्ध गराउँछौँ । उनीहरुले बाँड्लान् ।’ किसानलाई जताततैबाट समस्या भएको उनको भनाइ छ ।
चैतमा लगाएको धान मरुवा रोग लागेर सखाप भएको भन्दै उनले किसानहरु समस्यै समस्यामा जकडिएको बताए ।
गोरखाका लागि तीनहजार पाँचसय मेट्रिकटन मलको आवश्यकता पर्ने कृषि विकास कार्यालय गोरखाले जनाएको छ । तर अहिलेसम्म एकहजार एकसय मेट्रिकटन मल मात्र प्राप्त भएको कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । ‘हामीले मल ल्याएर कोटा छुट्याएर पालिकालाई दिन्छौँ । पालिकाले समूह, सहकारी मार्फत कृषकलाई बाँड्नुहुन्छ’, कार्यालय प्रमुख तिवारीले भने, ‘तर समूह सहकारीले वितरण गर्दा सहकारीका सदस्यलाई मात्र बाँडेको, सर्वसाधारण किसानले मल नपाएको भनेर हामीलाई पनि गुनासो आइरहेको छ ।’
रोपाइँका बेला, गोड्ने बेला, बाला लाग्ने बेला मल चाहिने भन्दै उनले आफूहरुले मल आपूर्तिका लागि निरन्तर पहल गरिरहेको बताए ।




