
निर्धारित समयअगावै निर्माण भएका दुई पक्की पुलको उद्घाटन
कैयौं योजना अलपत्र भइरहेको, म्याद थप्दाथप्दै ‘क्रोनिक’ भइसकेको अवस्थामा गोरखाका दुईवटा मोटरेबल पुल ठेक्का सम्झौतामा उल्लेख भएको समयभन्दा अगावै निर्माण सम्पन्न भएका छन् । दुईबर्षभित्र निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएका लुदीखोला पुल र चुक्ती खोलापुल एक बर्ष नबित्दै निर्माण सम्पन्न भएका हुन् ।
पूर्वाधार विकास कार्यालय गोरखाले निर्माण गरेका दुवै पुलको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । गोरखा नगरपालिका १२, स्याउली बजार, भट्टफाँट र सहिद लखन गाउँपालिका १ जोड्ने ६० मिटर लामो पुलको मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका हुन् । त्यस्तै पालुङ्टार नगरपालिका ९ स्थित तल्लो सेरा र माथिल्लो सेरा जोड्ने २० मिटर लामो पुलको पनि शनिबार नै उद्घाटन गरेका हुन् ।
निर्धारित समय अगावै पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीहरु राजेन्द्र थपलिया र मिलन खड्कालाई मुख्यमन्त्री पाण्डेले उद्घाटन समारोहमा अभिनन्दन पनि गरेका छन् । दुवै निर्माण व्यवसायीलाई मुख्यमन्त्रीले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
लुदीखोला पुल २०८४ सालको असार २१ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड विल्डर्सले पूर्वाधार विकास कार्यालयसंग २०८२ असार २२ गते योजना सम्झौता गरेको थियो । गत असोज महिनाबाट निर्माण कार्य आरम्भ गरेको सो कम्पनीले यही असारको २३ गतेभित्र निर्माण सम्पन्न गरिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।
सो पुल सात करोड ५९ लाख ३० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको अर्यालले जानकारी दिए । त्यस्तै चुक्तीखोला पुल २०८३ पुस २१ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी अमृत कन्स्ट्रक्शन प्रालिले पूर्वाधार विकास कार्यालयसंग ठेक्का सम्झौता गरेको थियो । गत भदौ महिनामा निर्माण कार्य आरम्भ गरी गत असार १५ गते निर्माण सम्पन्न गरिसकेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।
सो पुल तीन करोड ५८ लाख ३९ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ । लुदीखोलामा पक्की पुल बनेपछि सहिद लखन गाउँपालिका वडा नं. १, २ र ३ का बासिन्दालाई गोरखा सदरमुकामसम्म पुग्न सहज हुने भएको छ । त्यस्तै चुक्तीखोला पुल बनेपछि गोरखा नगरपालिका वडा नं. ९ का बासिन्दा लाभान्वित हुने भएका छन् ।




