| बिहिबार, असार २४, २०८३

पालुङटारारा जग्गाको वर्गीकरण परिवर्तन गर्ने मौका प्रदान

पालुङटार नगरपालिकाले पालिकाभित्रका जग्गाको उपयोगिताका आधारमा वर्गीकरण परिवर्तन गर्न एक पटकका लागि मौका प्रदान गरेको छ । नगर कार्यपालिकाको आइतबार बसेको बैठकले भूमि उपयोग परिवर्तन तथा भूमि उपयोग क्षेत्र वर्गीकरण छुटसम्बन्धी कार्य अगाडि बढाउने निर्णय गरेको हो ।

नेपाल सरकारले हालै जारी गरेको अध्यादेशले संशोधन गरेको भूमि उपयोग ऐन, २०७६ को दफा ८ को उपदफा २ (क) अनुसार स्थानीय भूमि उपयोग परिषद्ले एक पटकका लागि भूमि उपयोग परिवर्तन गर्न सक्ने कानुनी व्यवस्था गरेको थियो ।
सोही कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने उद्देश्यले पालुङटार नगरपालिकाले भूमि उपयोग परिवर्तन गर्न इच्छुक नगरवासी तथा सम्बन्धित सरोकारवालालाई आधार, कारण र आवश्यक प्रमाणसहित तीन दिनभित्र नगरपालिकामा निवेदन पेश गर्न आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीद्वारा जारी सूचनामा समय सीमाभित्र प्राप्त निवेदनका आधारमा प्रचलित कानुन र अध्यादेशबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ । नगरपालिकाले सम्बन्धित सबै वडा कार्यालय तथा सरोकारवालालाई सूचना कार्यान्वयनमा सहयोग गर्नसमेत आग्रह गरेको छ ।

नगरपालिकाको सूचना अनुसार तीनदिनभित्र निवेदन परेकाहरुको हकमा आवश्यक निर्णय गर्ने उपमेयर बन्दना पाण्डेले बताइन् । यसअघि गाउँबस्तीका, दूरदराजका पाखो पखेरा बारीलाई पनि सहरी क्षेत्रसरह वर्गीकरण गरेपछि अंशवण्डा, किनबेच लगायतका कामहरु प्रभावित भएका उनले जानकारी दिइन् । आर्थिक अवस्था कमजोर भएकाहरु अंशवण्डा गरेर आफ्नो नाममा लालपूर्जा बनाउन समेत नसक्ने भएका उपप्रमुख पाण्डेको भनाई छ ।

‘कतिपय व्यवहारिक रुपमै समस्यामा परेका थिए । सरकारले नयाँ अध्यादेश जारी गरेसँगै हामीले पनि पालिकाबासीलाई जग्गाको वर्गिकरण परिवर्तन गर्ने मौका दिएका हौँ’, उनले भनिन् । पाण्डेका अनुसार जग्गा वर्गिकरण परिवर्तनका लागि आएका निवेदनहरुमाथि नगरपालिकाले स्थलगत अनुगमन गर्नेछ ।

स्थलगत अनुगमनपछि स्थानीय भूमि उपयोग परिषद्ले जग्गा वर्गिकरण परिवर्तन गर्ने नगर्ने बारे निर्णय गर्ने उनको भनाई छ ।नगरपालिकाको प्रमुखको संयोजकत्वमा बनेको सो परिषदले नै वर्गिकरण परिवर्तनको अन्तिम निर्णय गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्