
४.६ मेगावाटको सुपर माछाखोला जलविद्युत आयोजना बन्दै
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत आयोजना निर्माणको काम अघि बढेको छ । ९६ करोड लागतमा बुढीगण्डकी हाईड्रोपावर कम्पनी प्रालिले आयोजना निर्माण थालेको हो ।
२०८१ पुषबाट आयोजनाको काम सुरु भएको कम्पनीका प्रवद्र्धक कृष्ण घिमिरेले बताए । आयोजना अन्तरगत अहिले विद्युत गृह(पावर हाउस) निर्माण, हेडवक्र्स, पाइपलाइन निर्माण लगायतको काम भइरहेको उनले जानकारी दिए ।
साथै, शियर वाल निर्माणको काम सम्पन्न भैसकेको र बिम बाध्ने काम सुरु भएको घिमिरेको भनाई छ । ‘जम्मा २२ सय ८६ मिटर पाइपलाईन जडान गर्नुपर्नेमा एकहजार मिटर जडान भैसक्यो’, उनले भने, ‘पावर हाउस निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको छ भने हेडवक्र्सको काम ६० प्रतिशत भएको छ ।’ समग्रमा आयोजनाको ६० प्रतिशत काम सम्पन्न भैसकेको प्रवद्र्धक घिमिरे बताउँछन् ।
यही पुषभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गरेर माघबाट बिजुली बाल्ने लक्ष्य आयोजनाको छ । सोही अनुसार काम अघि बढिरहेको कम्पनीको भनाई छ । ‘सबै योजना फाइनल गरेर काम अघि सारेका हौँ । हामीसँग आयोजना निर्माणका लागि आवश्यक स्रोत साधनको कमी छैन त्यसैले समयमै काम सम्पन्न हुन्छ’, आयोजनाका प्रवद्र्धन घिमिरेले भने ।
आयोजनाको विद्युत गृह धार्चे गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको जेर्बु खोलामा बन्ने छ । त्यहाँ २२ सय ८६ मिटर माथिबाट पानी झारेर विद्युत निकाल्ने कम्पनीले जनाएको छ । उत्पादित विद्युत माछाखोलाको बिकास हाइड्रो पावरसँग जोडेर बसेरी सल्यानटार हुँदै केन्द्रिय प्रशारण लाइनमा जोडिने छ ।




