| बुधबार, असार २३, २०८३

कृषि व्यवसायीकरणमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको साथ

शहिद लखन गाउँपालिका–७ स्थित मास्कीछाप कृषक समूहले गरेको गोलभेडा खेतीले उत्पादन दिन सुरु गरेको छ । २०८१ सालमा गठन भएको उक्त समूहले यो बर्ष टनेल र खुल्ला जमिनमा श्रृजना जातको गोलभेडा लगाएको छ ।

गाउँमा आवश्यक पर्ने गोलभेडा स्थानीय स्तरमै उत्पादन गरेर आम्दानी समेत गर्ने उद्देश्यसहित उनीहरुले खेती थालेका हुन् । खेतीका लागि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाइ गोरखाले प्राविधिक एवं आर्थिक सहयोग गरेको समूहका अध्यक्ष कृष्णबहादुर थापा मगरले बताए ।

‘आयोजनाकै संक्रियतामा हामीले समूह गठन गरेका हौँ,’ उनले भने, ‘गत आर्थिक बर्ष साना सिंचाई अन्तरगत पाइप खरिदका लागि १ लाख ५० हजार रकम अनुदान दिनुभयो, यो बर्ष पुरक अनुदान कार्यक्रम अन्तरगत ६ लाख रुपैया अनुदान पायौँ ।’
उक्त रकमबाट हरियो जाली र ड्रिप सिंचाई सेटसहितको पाँचवटा प्लाष्टिक टनेल निर्माण भएको उनले जानकारी दिए । त्यस्तै पाँच वटा मिनि टिलर, इलेक्ट्रिक स्प्रेयर, बहु–वाली थ्रेसर, कम्वाइन मिल, मकै छोडाउने मेसिन र पुश रो सिडर समेत खरिद गरिएको उनले बताए ।

अनुदानसँगै आयोजनाले कृषकलाई खेती सम्बन्धि तालिम पनि दिदै आएको छ । पाठशाला मार्फत उनीहरुलाई गोलभेडाको बिउ रोप्ने, कटिङ गर्ने, माटोको उपचार विधि, बिषादीको प्रकार र यसको असरबारे जानकारी गराउँदै आएको आयोजनाका प्रमुख होमनाथ लम्सालले बताए । ‘पाठशालामा गोलभेडामा लाग्ने रोग र यसको नियन्त्रणका उपायबारे समेत सिकाइन्छ,’ उनले भने । उक्त समूहलाई आयोजनाले ट्याक्टर ह््याण्डलिङ तथा मर्मत तालिम समेत दिएको छ ।

बेमौसमी तरकारी खेतीका लागि ब्याड व्यवस्थापन गर्न फलामे टनेल आवश्यक रहेको समूहले जनाएको छ । तरकारी वालीसँगै कफी खेतीसमेतलाई मध्यनजर गर्दै यान्त्रिकरणमा जोड दिन समूहले आयोजनालाई आग्रह गरेको गरेको छ । उत्पादिन कृषि उपजको बजार व्यवस्थापनमा समेत सघाउ पु¥याइदिन उनीहरुले माग गरेका छन् ।

आयोजनाले गोरखाको शहिद लखन र आरुघाट गाउँपालिकामा बिभिन्न समूह बनाएर कार्यक्रम लागू गर्दै आएको छ । दुई पालिकाका प्रत्येक वडामा कार्यक्रम संचालन भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्