| बुधबार, असार २३, २०८३

शुक्रबारदेखि तिब्बती नाका रुइला र ङुइला खुल्ने

सँधै बन्द रहने उत्तरी गोरखा र तिब्बत बीचको नाका आउँदो शुक्रबारदेखि खुल्ने भएको छ । चुमनुब्री गाउँपालिका वडा नं. १ मा रहेको रुइला नाका र वडा नं. ७ मा रहेको ङुइला नाका आउँदो शुक्रबारदेखि खुल्ने त्यहाँका जनप्रतिनिधिहरुले जानकारी दिएका छन् ।

ती नाकाहरु चिनियाँ सरकारले बर्षमा एकफेर एकतर्फी रुपमा खुलाउँछन् । एक महिनादेखि तीन महिनासम्म सीमित समयका खोलेर एकतर्फी रुपमै बन्द गर्ने वडाअध्यक्षहरुको भनाइ छ । ‘उनीहरुले सूचना गरेर खुलाउँछन्, उनीहरुले नै बन्द गर्छन्’, वडा नं. १ का अध्यक्ष कर्मा छेवाङ लामाले भने, ‘यो सिजनका लागि आउँदो शुक्रबारदेखि खुलाउने भनेर खबर पठाएका छन् ।’ सीमा खुलेपछि तिब्बती बजार जान गाउँलेहरुले बोर्डर पास नवीकरण गरेर बसेका छन् ।

वडाअध्यक्ष कर्मा छेवाङका अनुसार सीमा नाका पुग्न गाउँबाट ६ देखि ८ घण्टा पैदल हिँड्नु पर्छ । ‘केही बर्ष पहिलेसम्म सामान किन्न कुङदाङ पुग्नु पथ्र्यो । अहिले त नाका भएकै ठाउँमा अस्थायी त्रिपाल टाँगेर हाट बजार लगाउँछन्’, उनले भने, ‘यताका गाउँलेहरुले के के किन्छन् भन्ने उनीहरुलाई थाहा हुन्छ । त्यही अनुसार सामान ल्याएर हाट बजारमा राख्छन् ।’ वडा नं. १ वडा नं. २ र वडा नं. ४ का बासिन्दाहरु सो ठाउँमा सामान किन्न जाने उनले बताए ।

चुमनुब्री ७ र तिब्बत जोड्ने ङुइला नाका खुल्ने भएपछि छेकम्पारका स्थानीयबासी खुशी भएका छन् । ‘हामी अब स्याकसम्म जान पाउने भयौँ’, वडा अध्यक्ष टासी दोेर्जे लामाले भने, ‘पोहोरसाल तीन महिनासम्म खुल्ला भएको थियो । अहिले पहिलो चरणमा एक महिनाका लागि मात्र खुलाउने भनेको छ । पछि म्याद थप्दै जान्छन् होला ।’

सीमा क्षेत्रका बासिन्दाहरु तिब्बती बजारबाट दैनिक उपभोग्य सामान किन्ने र यताबाट यार्सागुम्बा लगायतका जडिबुटी लगेर बेच्ने गर्छन् । अरु बेला सँधै सीमा नाका बन्द रहने हुँदा सीमा पारि रहेका आफन्तजनहरुसंग भेटघाट पनि यही मौकामा गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्