| मङ्लबार, असार २२, २०८३

बारपाकमा धमाधम कोदो रोपाईँ

बारपाकमा धमाधम कोदो रोपाईको सिजन चलिरहेको छ । यहाँको प्रमुख खेतीका रुपमा रहेको कोदो असार लागेदेखि नै रोप्न सुरु गरिएको बारपाक सुलिकोट १ का वडाअध्यक्ष धनबहादुर घलेले जानकारी दिए ।

समुद्री सतहदेखि दुई हजार मिटरभन्दा उच्च स्थानमा अवस्थित बारपाकमा धान खेती गर्ने खेतहरु छैनन् । यहाँका पाखो बारीहरुमा सिजनअनुसार कोदो, मकै, गहुँ, जौ र आलु खेती गरिने वडाअध्यक्ष घलेले जानकारी दिए । ‘अल्लि उच्च ठाउँका बारीहरुमा असार लागेदेखि नै कोदो रोप्न सुरु भयो । अलिकति होचो ठाउँका बारीहरुमा साउनको दोस्रोसातासम्म कोदो रोपिन्छ’, घलेले भने, ‘बारपाकको गाउँको दायाँ र बायाँतर्फ ठूला फाँटहरु छन् । दुवैतर्फ आलोपालो गरी कहिले मकै, कहिले कोदो खेती गरिन्छ । एकातिर कोदो खेती गरेका बेला अर्कातिर मकै, एकातिर मकै खेती गरेका बेला अर्कोतिर कोदो ।’ यहाँका बारीमा बर्षमा दुई खेती मात्र हुने उनले बताए ।

वडा नं. १ र २ गरी दुई वडामा फैलिएर रहेको बारपाक गाउँमा १२ सय घरधुरी छन् । प्रायः सबै घरधुरीका किसानले कोदो रोप्ने वडा नं. २ का अध्यक्ष पूर्ण गुरुङले जानकारी दिए । यहाँ अर्ममर्प गरेर कोदो रोप्ने पुरानो परम्परा कायमै छ । ‘आजभोलि आक्कलझुक्कल ज्यालामा खेताला लगाए पनि धेरैजसो अर्मपर्म गरेरै कोदो रोप्ने गरिन्छ’, उनले भने, ‘कोदो रोप्ने बेला गाउने विशेष गीत हुन्छ । त्यही गीत गुञ्जाउँदै कोदो रोप्दै गर्छन् ।’

हिउँद याममा गहुँ, जौ खेती हुने यहाँ बर्खामा मकै र कोदो हुने गुरुङ बताउँछन् । ‘यहाँको मुख्य खेती भनेकै कोदो, मकै, गहुँ र जौ हो’, वडाअध्यक्ष धनबहादुर घले भन्छन्, ‘माघ फागुनमा रोपेको मकै साउन, भदौमा भित्र्याइन्छ । त्यसको एकमहिनापछि असोजमा गहुँ, जौ रोपेर बैशाख, जेठमा भित्र्याइन्छ । फेरि त्यहाँ कोदो रोपेर मंसीरमा भित्र्यान्छ ।’ बाली चक्र मिलाएर खेती गरिने उनले बताए ।

यहाँ खेती गरिएको कोदोको मुख्यगरी ढिडो खान प्रयोग हुन्छ । ‘मुख्य त ढिडो नै हो । अनि जाँड, रक्सी बनाउन, रोटी, यहाँको विशेष परिकार आलुम् बनाएर पनि खाने चलन छ’, वडाअध्यक्ष पूर्ण गुरुङ भन्छन्, ‘एउटा रमाइलो कुरा के छ भने, यहाँको कोदोको पिठो युके, अमेरिकातिर पुग्छ, किनभने उनीहरुलाई कोदोको महत्व धेरै छ । यहाँचाहिँ चामल बेसाएर भात खाने नयाँ परम्परा सुरु भएको छ ।’ तैपनि धेरैजसोले ढिडो नै खाने उनको भनाइ छ ।

तस्वीर: मीरा गुरुङ ।

प्रतिक्रिया दिनुहोस्