| आइतवार, असार २०, २०८३

गोरखामा ७ वर्षमा ५४ हजारले लिए सुरक्षित आप्रवासन सेवा, २ अर्ब १२ करोड आर्थिक सहायता समन्वय

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी) बाट गोरखा जिल्लामा पछिल्लो ७ वर्षमा ५३ हजार ८६३ जनाले प्रत्यक्ष सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्रले २०७६ असार १५ देखि २०८३ असार १७ सम्म सो संख्यामा सेवाग्राहीलाई सेवा दिएको हो ।

गोरखा नगरपालिकाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ती सेवाग्राहीमध्ये सबैभन्दा धेरै ४४ हजार ७१५ जना विदेश जानुअघि सूचना र परामर्श लिन गाएका सम्भावित कामदार हुन्। त्यसैगरी २३५४ जना रिटर्नी, ९७९ जना समस्या समाधानका लागि र ५८१५ जना अन्य प्रयोजनका लागि स्रोत केन्द्र पुगेका थिए। कुल सेवाग्राहीमा १९ हजार ५९६ महिला र ३४ हजार २६७ पुरुष छन्।

यसै अवधिमा वैदेशिक रोजगारीका क्रममा आइपरेका ५३४ जनाले केन्द्रमा उजुरी दिएको कार्यक्रमका जिल्ला संयोजक चन्द्र देवकोटाले जानकारी दिए । सबैभन्दा धेरै १७३ ठगीका, बिरामीका १३३ र मृत्युका ७९ वटा उजुरी परेका छन्। जेल, उद्धार, सम्पर्क बिहीन र दुर्घटनाका उजुरी पनि उल्लेख्य छन्।

उजुरीको प्रकृतिअनुसार जिल्ला प्रशासन, वैदेशिक रोजगार विभाग, प्रहरी, बैंक, पिएनसिसि र राजदूतावाससँग समन्वय गरिएको संयोजक देवकोटाले जानकारी दिए । । ‘हामीले कानुनी प्रक्रिया मात्र मिलाउँदैनौँ, पीडित परिवारलाई राहतसम्म पुग्ने बाटो पनि देखाउँछौँ,’ उनले भने। यसबाट पीडित परिवारलाई वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीमार्फत जम्मा २ अर्ब १२ करोड ६९ लाख ६ हजार ८१२ रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराउन समन्वय गरिएको उनले बताए ।

विदेशमा कमाइ गरेर घर फर्केका धेरैसँग पैसा त हुन्छ, तर मानसिक तनाव पनि उत्तिकै हुन्छ । कार्यक्रमले मनोसामाजिक परामर्श र वित्तीय साक्षरतालाई पनि प्राथमिकता दिएको छ । । ‘विदेशमा एक्लोपन र ऋणको तनावले धेरैलाई मानसिक रूपमा कमजोर बनाएको हुन्छ। हामीले उनीहरुलाई सुन्ने र बाटो देखाउने काम गरेका छौँ,’ परामर्शकर्ता मुक्ता कुमालले बताइन् ।
यस अवधिमा ५६५ जनाले मनोसामाजिक परामर्श सेवा लिएका छन्। तीमध्ये ५३६ जनाको समस्या समाधान भएको छ। सामान्य पिरचिन्ता, डिप्रेसन, घरेलु हिंसा र आत्महत्याको सोच भएकाहरुलाई यो सेवा दिइएको हो।

त्यसैगरी कमाएको पैसा कसरी बचत गर्ने, ऋणमा नडुब्ने र परिवारको आर्थिक योजना कसरी बनाउने भनेर २६७ जना लाभन्वित हुने गरी वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो। गोरखा, पालुङटार नगरपालिका बारपाक सुलिकोट र शहिद लखन गाउँपालिकामा विप्रेषण प्राप्त गर्ने परिवारलाई २१ हप्ते वित्तीय साक्षरतासँगै मनोसामाजिक परामर्श कक्षा पनि दिइएको कुमालले बताइन् ।

नेपाल सरकार, गण्डकी प्रदेश सरकार र हेल्भेटास नेपालको सहकार्यमा सञ्चालित सामी कार्यक्रमले ५ वटा मुख्य सेवा दिँदै आएको छ । ती मध्य सूचनामा पहुँच, न्यायमा पहुँच, सिप तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता रहेको छ । कार्यक्रमले सूचना, न्याय, सिप, परामर्श र वित्तीय साक्षरतामार्फत वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन मद्दत पुगेको दाबी गरिएको छ । वित्तीय साक्षरता कार्यक्रम भने जिल्लाका ९ वटा पालिकामा सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्