
पात पतिङ्गरबाट प्राङ्गरिक मल
जिल्लाको चारवटा सामुदायिक वन समूहले वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेको छ । सहिदलखन गाउँपालिका वडा नं १ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पात पतिङ्गरबाट प्राङ्गरिक मल बनाउने सुरुवात गरेको हो ।
साथै, गोरखा नगरपालिका वडा नं ८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भिमसेनथापा गाउँपालिका वडा नं ५ को कलुवागैरा आँपगैरा कुटमिरे सामुदायिक वन उपभोक्ता समूह उक्त कार्यमा जुटेको हो । डिभिजन वन कार्यालय गोरखाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरुले पात पतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु गरेका हुन् ।
कार्यालयले सामुदायिक वन समूहहरुलाई प्राङ्गरिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत शिशिर लम्सालले बताए । यस्तै, वन समूहहरुलाई मल बनाउनका लागि आवश्यक तालिम तथा अभिमुखीकरण गराएको उनले जानकारी दिए ।
कार्यालयको बायोमासमा आधारित प्राङ्गरिक मल उत्पादन कार्यक्रमअन्तरगत मल बनाउने कार्यक्रम संचालन गरेको लम्साल बताउँछन् । कार्यक्रमले पछिल्लो समय वन क्षेत्रमा चुनौतीको रुपमा फैलदै गएको मिचाहा प्रजातिको सदुपयोग तथा व्यवस्थापनमा सहयोग पु¥याउने उनले बताएका छन् ।
‘वनमारा लगायत मिचाह प्रजाति व्यवस्थापन र रैथाने प्रजातिको संरक्षणमा कार्यक्रमले सहयोग पु¥याउँछ’, उनले भने । यसैगरी, प्राङ्गरिक मलको उत्पादनले रसायनिक मलको अभावलाई केही हदसम्म परिपूर्ति गरेर कृषि र वनको सम्बन्ध स्थापित गर्ने तथा जैविक कृषि प्रवद्र्धन गर्ने वन अधिकृत शिशिर लम्सालको भनाइ छ ।
कार्यक्रमअन्तरगत कार्यालयले सामुदायिक वन उपभोक्ता समूहकै नेतृत्वमा वनबाट पात पतिङ्गरहरु (वनमारा, झाडी, पात, काठको टुक्रा) संकलन गर्छ । संकलन भएका उक्त सामाग्रहरुलाई ५ देखि ८ फिट चौडाइ र ३ देखि ५ फिट उचाइको लामो तह बनाएर खुला ठाउँमा जम्मा गरिन्छ ।
मल बन्नका लागि उपयुक्त विधि तथा प्रक्रिया पु¥याएर ८ देखि १२ हप्ताभित्र उच्च गुणस्तरको प्राङ्गरिक मल तयार हुने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए । उनका अनुसार कार्यक्रमले मिचाह प्रजातिको व्यवस्थापन, डढेलो नियन्त्रण तथा सामुदायिक वनको आयआर्जनमा ठुलो टेवा पु¥र्याउनेछ ।




