
पशुमा पूर्ण खोप कार्यक्रमअन्तरगत चारलाख ४१ हजार पशुचौपाया लाभान्वित
सरकारको पशुमा पुर्ण खोप कार्यक्रमअन्तरगत गोरखामा चारलाख ४१ हजार ४२२ पशुचौपाया लाभान्वित भएका छन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाका अनुसार जिल्लाको ११ पालिकामा उक्त सङख्याको पशुचौपायालाई पुर्ण खोप दिइएको हो ।
कार्यालयको तथ्याङ्क अनुसार गोरखा नगरपालिकाको ५१ हजार ३१९ तथा पालुङटारको ६६ हजार ३७३ पशुचौपायालाई खोप लगाइएको छ । यस्तै, शहिद लखन गाउँपालिकाको २७ हजार ६८२, गण्डकी गाउँपालिकामा ६३ हजार ८१६ र भिमसेनथापा गाउँपालिकाको २६ हजार ५९४ पशुचौपायालाई खोप लगाइएको केन्द्रको विवरणमा उल्लेख छ ।
सिरानचोकमा ३६ हजार ४९९, अजिरकोटमा १७ हजार ७२२, बारपाक सुलिकोटमा ३७ हजार ५६८ र आरुघाट गाउँपालिकामा २३ हजार ८६५ पशुचौपायालाई पूर्णखोप दिइएको हो । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका ३२ हजार ८०५ तथा चुमनुब्री गाउँपालिकाको ५७ हजार १७९ पशुचौपायाले पूर्णखोप पाएका भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाले जनाएको छ ।
जिल्लामा सबैभन्दा धेरै ४४ हजार ७४ गाई/गोरु खैरेत रोग बिरुद्धको खोप दिइएको छ । यस्तै, ३२ हजार ९४ रागा/भैँसी लाई खैरेतको खोप दिएको कार्यालयको विवरणमा उल्लेख छ । रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि सरकारले पशुमा पुर्णखोप कार्यक्रम संचालन गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाका प्रमुख अनन्त कोइरालाले बताए ।
कार्यक्रम अन्र्तगत केन्द्रले बाख्रामा पिपिआर विरुद्धको खोप, गाई/भैँसीमा खोरेत तथा लम्पी स्किनको खोप, सुँगुररबुँङ्गुरमा क्लासिकल स्वाइन फिवर र कुकुरमा रेबिज विरुद्धको खोप लगाउँदै आएको उनले जानकारी दिए । यस वर्ष जिल्लाभर ३१ हजार २४ गाई/भैँसीमा लम्पी स्किनको (एल.एस.डी) खोप दिएको छ ।
यस्तै, जिल्लाभर तीनलाख १० हजार २४ बाख्रामा पिपिआर विरुद्धको खोप, ६ हजार ८८ सुँगुररबुँङ्गुरमा क्लासिकल स्वाइन फिवर र सातहजार १६८ कुकुरमा रेबिज विरुद्धको खोप लगाएको उल्लेख छ । यसैगरी, ८६ हजार ६ सय २४ गाई/गोरु तथा रागा/भैँसीलाई खोरेत रोग बिरुद्धको (एफ.एम.डी) खोप लगाइएको उल्लेख छ ।
आर्थिक वर्ष २०८०/०८१ बाट गोरखामा पशुमा पुर्ण खोप कार्यक्रम संचालन भएको हो । प्रारम्भिक चरणमा केही पालिकाहरुमा मात्र लागु भएको यस कार्यक्रम गत वर्षबाट जिल्लाभरी नै संचालनमा आएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गोरखाले जनाएको छ ।




