
मनास्लु क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व बढ्दै
प्रतीक्षा आले ।
सामागाउँ, साम्दोमा १८ वटा क्यामेरा राखेर अध्ययन गरिँदै
मनास्लु संरक्षण क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका घटना बढ्दो क्रममा छ । उक्त क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्ममा ५९ पशुचौपायाको मृत्यु भैसकेको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।
एमक्यापको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा उक्त क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ७६ पशुचौपाया मरेका थिए ।
यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा ७५ पशु मरेको कार्यालयको विवरणमा उल्लेख छ । यसरी मनासलु क्षेत्रमा हरेक वर्ष वन्यजन्तुले घरपालुवा पशुलाई आक्रमण गर्ने दर बढ्दै गएको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले बताए । वन्यजन्तुले यो बर्ष मान्छेलाई समेत आक्रमण गरेको थियो । सो क्षेत्रका दुई व्यक्ति वन्यजन्तुको आक्रमणमा परेका ओझाले जानकारी दिए ।
आक्रमणमा पर्नेमा सबैभन्दा बढी चौरी गाई रहेको कार्यालयले जनाएको छ । विगत तीनवर्ष यता मनास्लु क्षेत्रमा ६३ चौरीगाईको वन्यजन्तुको आक्रमणमा परेर मृत्यु भएको छ । यस्तै, ४५ घोडा, २३ गाई/गोरु र १२ वटा याकको मृत्यु भएको उल्लेख छ ।
विषेशगरी हिमचितुवा, ब्वाँसो र दुर्लभ मानिने हिमालयन ब्राउन वियर (भालु)ले मनास्लु क्षेत्रको पशुचौपायामा क्षति पु¥याएको एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए ।
जलवायु परिवर्तनका कारण वन्यजन्तुको बासस्थान फेरिएको र उनीहरुको आहारा प्रजातिको कमीका कारण मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको हुनसक्ने ओझा बताउँछन् । साथै, हिमाली क्षेत्रमा पशुपालनको ढाँचा फेरिएकाले पनि द्वन्द्व बढेको हुनसक्ने उनको अनुमान थियो ।
‘पहिल गाउँमा याक चौरीका हेरालु हुन्थे । चौरी गोठमा मान्छेहरु समूह बनाएर गोठाला जान्थे, चौरी हेर्थे’, उनले भने, ‘अहिले गाउँमा मान्छे छैनन् । याकचौरी यत्तिकै छाडिदिन्छन्, दुईचार दिनसम्म हेर्न जान्नन् । जसले गर्दा बढी पशुचौपाया जंगली जनावरको शिकार बन्न पुगेका छन् ।’
लेक तथा खर्कहरुमा घाँसको अभाव हुँदा पशुचौपाया माथिल्लो क्षेत्रहरुमा जाने र जंगली जनावरको शिकार हुने गरेको गोठालाहरु बताउँछन् । ‘कहिले काँही बस्तुभाउ घाँस खोज्दै माथि माथि जान्छन् । अनि जंगली जनावरको शिकार हुनपुग्छन्’, चुमनुब्री गाउँपालिका ७ छेकम्पारका पासाङ दोर्जेले भने ।
मानव वन्यजन्तु द्वन्द्व अध्ययनका लागि एमक्यापले चुमनुब्री गाउँपालिका १ सामागाउँ, साम्दो तथा धर्मशाला क्षेत्रमा १८ वटा क्यामेरा जडान गरेको छ । सो क्षेत्रका वन्यजन्तुको अवस्था बुझ्न, मानव वन्यजन्तु द्वन्द्वको कारण पत्ता लगाउन र द्वन्द्वमा कुन वन्यजन्तु आवद्ध छन् भन्ने पत्ता लगाउन उक्त क्यामेराहरु जडान गरेर अध्ययन सुरु गरेको एमक्याप प्रमुख अनिल प्रसाईँले बताए ।
एमक्याले यही बैशाखमा सामागाउँ तथा साम्दोको विभिन्न क्षेत्रमा उक्त क्यामेराहरु जडान गरेको थियो । क्यामेरामा कैद भएका करिब दुई महिनाको फुटेज लिएर मानव वन्यजन्तु द्वन्द्वको अध्ययन गरिने प्रसाईँले जानकारी दिए । केही दिनभित्र उक्त क्यामेराहरु निकाल्ने र अध्ययन सुरु गर्ते उनको भनाइ छ ।
अध्ययनपछि आउने नतिजाको अधारमा आगामि वर्षको नीति तथा कार्यक्रमहरु तय गर्ने मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।




