| मङ्लबार, असार १५, २०८३

अफ्रिकन स्वाइन फिभरले गोरखाका दुई सय बढी सुँगुर, बंगुर मरे

विभिन्न जिल्लाहरुमा फैलिएको अफ्रिकन स्वाइन फिभर गोरखामा पनि फैलिएको छ । बिगत दुई महिनायता फैलिएको सो संक्रमणबाट हालसम्म २५० भन्दा धेरै सुँगुर, बंगुरको मृत्यू भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख अनन्त कोइरालाले जानकारी दिए ।

उनका अनुसार गोरखा नगरपालिका–६ मानवसेवा आश्रम आसपासका किसान राजकुमार श्रेष्ठको फर्मको ८० वटा र सो नजिकैका जुना रेग्मीको फर्मको १० बंगुर मरेका छन् । त्यस्तै मान्द्रेढुंगाको धनकुमार गुरुङको एकै फर्मको ६० वटा बंगुर दुई हप्ताको अन्तरालमा मरेका छन् ।

अहिलेसम्मको तथ्यांकअनुसार गोरखा नगरपालिका वडा नं. ६, ७, ८ तथा सहिद लखन गाउँपालिका वडा नं. ७ का फर्महरुका बंगुरमा अफ्रिकन स्वाइन फिभर संक्रमण फैलिएको पाइएको छ ।

पहिचान भएको करिब दुई महिना मात्र भएको कार्यालय प्रमुख कोइरालाको भनाइ छ । ‘अहिलेसम्म उपचार पनि नभएको, खोप पनि नभएकाले संक्रमणले छोएपछि निश्चित रुपमा मर्ने गर्छन्’, उनले भने, ‘संक्रमण भएको ठाउँका मान्छेको लसपसबाट, दाना, औषधीहरुबाट पनि यो रोग सर्छ ।’

उपचार भएकाले यसबाट बच्नु नै एक मात्र समाधान भउको उनको भनाइ छ । ‘अफ्रिकन स्वाइन फिबरले धमाधम सुँगुर बंगुर मरेका जानकारीहरु आएका छन् । कुनै दर्तावाला फर्मबाट, कुनै दर्ता नभएका फर्महरु पनि भएकाले सबै जानकारी नआएको हुनसक्छ ।’ अरु कुनै पनि खोरको संसर्गबाट बच्नु नै वुद्धिमानी हुने उनको भनाइ छ ।

किसान धनकुमार गुरुङका अनुसार संक्रमणले छोएपछि ज्वरो आउने, केही पनि खाना नखाने शरीरमा धब्बा देखिने र एकसाताको बीचमा मर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्